काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सहमति जनाउँदै फर्की फर्की पुरानै र प्रम भइसकेका व्यक्ति तयार हुने, तम्सिने र आफूबाहेक अरूलाई योग्य नदेख्ने दृष्टिदोष हटाउनु आवश्यक भएको बताएका छन् ।
संघीय संसदको छैटौ अधिवेशन अर्थात् बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै जनता समाजवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीले संविधान, लोकतन्त्र र कानून विरोधी गतिविधिमा संलग्न भएको दाबी गर्दे नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने तर्क गरेको विषयप्रति लक्षित गर्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-
डा. बाबुराम भट्टराईले बोल्नुभएका अरू कुरा त त्यस्तै हुन्, प्रधानमन्त्री भइसकेका नेताहरूले अब प्रम बन्न मुख नमिठ्याऔँ भन्नेचाहिं उचित तर्क हो । फर्की फर्की पुरानै र प्रम भइसकेका व्यक्ति तयार हुने, तम्सिने र आफूबाहेक अरूलाई योग्य नदेख्ने दृष्टिदोष हटाउनु आवश्यक छ । प्रकृतिको नियम पुराना पात झरेर नै नयाँ पात पलाउने न हो ।
जन्मदै जर्साब बन्ने र आजीवन सेनापति हुने प्रचलन नेपाली सेनामा समेत हटिसकेको छ। राणातन्त्र हटाएको त सात दशक भइसक्यो ।। अनि राजनीतिमा रिटायर्डमेन्ट जरूरी छ भनेर कहिले बाटो खुला गर्ने हो ? सम्बन्धित सबै व्यक्तिले भन्नुपर्ने बेला अझै भएन ?

४२ मिनेटअघि पोस्ट भएको स्टाटसमा एक सय ७२ वटाभन्दा धेरै कमेन्ट आएका छन् ।
तेन्जीङ वली नामका एक प्रयोगकर्ताले भारतले नेपालको लिपुलेक मिचेको प्रसंग सम्झाउँदै लेखेका छन्, “एक पटक लिपुलेक अनि सिमानामा अलपत्र परेका नेपालिहरु को चिन्ता छैन है ? कहाँ बाट आएको कस्को रेमिटेन्सले सिंहदरबारभित्र मोज गरिरहेका छौ । अलि कति पनि लाज लाग्नु पर्ने हो त । देशको लागि माखो मार्ने होईन, कहिले गित पोस्ट गर, कहिले कविता पोस्ट गर, कहिले कुर्सी लुछातानि पोस्ट गर, अलिकति भयपनि सरकार भाको अनुभूति बनाउन, कति आफ्नो जागिर धरापमा होला भन्ने चिन्ता लिन्छउ,र बेला बेलामा बौलाउदै हिड्छौ, ए अब त अति नै भयो त ।”

केहि प्रयोकर्ताले उनको स्टाटसमा सहमति जनाएर आश्चर्य प्रकट गरेका छन् ।
प्रेम प्रशान्त बोहराले लेखेका छन् – जीवनमा पहिलोपटक स्वविवेकले लेखे जस्तो लाग्यो।अन्य दिनमा प्रायोजित लेख ,टिप्पणी आउँछन् र थापा बड्डा विवाद हुन्छन् ।

दिपक विशुन्खे लेख्छन् – धेरै वर्ष पछि मनको कुरा लेख्यौं दाइ तिमिले अब यो अभियान हाम्रै नेकपा बाट शुरु गर्नु पर्छ, शुभकामना

धेरैजसो प्रयोगकर्ताले भने लिपुलेक र सिंहदरबारको घटना सम्झाएका छन् ।

के भनेका थिए बाबुराम भट्टराईले ?
उनले लोकतन्त्र र कानुन विरोधी क्रियाकलापलाई तार्किक निष्कर्षमा पुर्याउन सत्ताको दुरुपयोग नगरी राजनैतिक नैतिकता देखाउन प्रधामन्त्रीलाई आग्रह गरे । लोकतन्त्रको सुनिश्चिता गर्दे मुलुकलाई राजनीतिको सही बाटोमा हिडाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क उनको थियो । कुर्सीमा बस्दैमा पद ठूलो नभएको भन्दै उनले सत्कर्म गरेर इतिहास बनाउन प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले भने “तपाई जुन उचाईमा पुग्नुभएको छ । त्यही रहनुहोस् । तपाईले अनावश्यक ढंगले यस्ता प्रकारका गतिविधिमा संलग्न हुदा तपाईले आफै माथि पनि अन्याय भएको छ । तपाई रोगले जिर्ण भएको शरिरलाई तपाईले आराम दिनुपर्छ । र यो लोकतन्त्रलाई बचाएर र आफ्नै छबिलाई पनि बचाएर अगाडि बढाउनका लागि निम्ति तपाईले राजीनामा दिनु नै उपयुक्त हुन्छ । त्यो नै एउटा उचित निकास हुन्छ । ”
कोरोना संक्रमणको जटिल अनि संवेदनशील समयमा मानविय सवालमा केन्द्रीत हुनुपर्नेमा मुलुकमा अत्यन्तै गम्भीर प्रकृतिका घटना भएको भन्दै उनले समयमै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने आवश्यता औल्याए ।
उनले भने “हाम्रो देशको कार्यकारी नेतृत्व रातभर पार्टी फुटाउने षडयन्त्र गरेर बस्छ र संबैधानिक अंगहरु कब्जा गरेर आफ्नो मनोखुसीले समय संबैधानिक अंगमा नियुक्ति गरेर निरंकुशता तर्फ देशलाई लैजान सक्छ भन्ने भाव पैदा हुनु लोकतन्त्रको निम्ति शुभ संकेत होइन । ”
अध्यादेश जारी प्रकरणले ठूलो अनिष्टको संकेत गरेको भन्दै उनले फिर्ता भईहाल्यो भनेर छोड्न नहुने बताए । प्रधानमन्त्री स्वयम्ले आफ्नो नभई अरुको पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको भन्नुले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठेको टिप्पणी उनले गरे । लकडाउनको समयमा काठमाडौं देखि तराईका जिल्ला पुगेर रातारात सांसदलाई काठमाण्डौमा ल्याएको घटनाले नै सबै कुरा स्पष्ट गरेको भन्दै उहाँले त्यसलाई कानुनी प्रक्रिया अनुसार समाधान गर्न आग्रह गरे।
पूर्व प्रधानमन्त्री जाहेरी दिन जाँदा प्रहरीले नलिएको प्रसंग उल्लेख गर्दे उनले सरकारबाट सुरक्षा निकायहरु प्नि आतंकित बनेको दाबी गरे । उनले सरकारले सुरक्षा निकाय लगायतका संघसस्थाहरु भत्काएर लोकतन्त्र कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले भने “जो पीडीत छ तीनै माथि पनि मुद्धा लगाईदिने । अनि प्रत्यक्ष परोक्ष ढंगले पहल गर्ने । अब फच्चे गरौ । तपाईले पनि फिर्ता लिनु म पनि फिर्ता लिन्छु । यही हो लोकतन्त्र रु यही हो हाम्रो समाजवाद ?”
सबै कुराको फैसला राजनीतिले नै गर्ने भएपनि नेतृत्वको पदलोलुपता र स्वार्थ केन्द्रीत कार्यशैलीका कारण जनताको नजरमा सबै राजनीतिज्ञहरुको छबि बिग्रिदै गएको र त्यसको परिणाम खतरनाक हुने चेतावनी दिए ।
उनले भने “ निर्वाचित सरकारको छबि राम्रो छैन । हामीले बोलेको कुरा अहिले कसैले पनि विश्वास गर्दैन । राजनीतिज्ञ, सांसद आदि भनेको सबै भ्रष्ट, गैहजिम्मेवार, सत्तालोलुप, पदलोलुप भन्ने खालको एउटा बिम्ब बनेको छ । त्यो अत्यन्तै खतरनाक छ ।”
उनले राजनीतिप्रति नै मान्छेको अविश्वास, आशंका र वितृष्णा फैलियो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेर मुलुक प्रतिगमन तर्फ जाने खतरा रहेकाले त्यो खतराबाट मुलुकलाई जोगाउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया