कोरोनाको त्रास : स्वास्थ्य सामाग्री चीनबाट आयात गर्दा करोडौँको खेल !

काठमाडौ । उद्योगी एवं नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका बसन्त चौधरीले ठट्यौली शैलीमा ट्वीट गरे र भने, “नर्भिकले आज नेपाल सरकारलाई १००० सेट पिपिई हस्तान्तरण गरेपछि एक पत्रकार मित्रले प्रतिसेट कति पर्छ भनेर सोधे र म अलमल्लमा परेँ ! खरिद मूल्य ३,३०० भनौं कि, भाडा मात्रै १,३२० पनि जोडि ४,६२० भनौं या बजारमा १५,००० मा बिक्रि भइरहेको मूल्य भनौँ !!” उनको यो लेखमा तात्विक अर्थ नेपालमा भइरहेको स्वास्थ्य सामग्रीको मनोमानी मूल्यतर्फ ईङ्गित मात्र थिएन । हवाई भाडामा देखिएको मनोमानी र यसतर्फ सरकारी निकायको निरिहपनको पनि एउटा उदाहरण झल्किएको थियो ।

कोरोना नियन्त्रण गर्न निजी सुरक्षा सामग्री (पीपीई) लगायत अत्यावश्यक सामग्री ल्याउन सरकारले मात्र नसकेपछि निजी क्षेत्रलाई पनि दिइएको छ ।

निजी क्षेत्रलाई चीनबाट स्वास्थ्य सामग्री ल्याउनपनि त्यत्ति सहज छैन । अहिले देश नै लकडाउनमा भएको अवस्थामा सम्पूर्ण नियमित र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा पूर्ण रुपमा बन्द छ ।

यो अवस्थामा कोही कसैले कुनै सामान आयात गर्न चाहेमा सरकारको सहमतीमा प्लेन चाटर्ड नै गर्नुपर्ने अवस्था छ । तर चीनबाट आयात गरिने स्वास्थ्य सामग्री आयात गर्दा उपभोक्तालाई चर्को मार पर्ने देखिएको छ । कारण चार्टर्ड प्लेनमा मनोमानी भाडादर ।

नियमित उडान हुँदा प्रतिकिलो ३ डलर पर्ने कार्गो अहिले निजी कम्पनीले प्लेन चार्टर्ड गर्दा १२ देखी १५ डलर प्रतिकिलो पर्ने भएको छ । शनिबार निजी व्यवसायीको लागि सामाग्री लिन ग्वान्जाओ जान तयार रहेको नेपाल एयरलान्सको वाईडबडीमा व्यवसायीले प्रतिकिलो १२ देखी १५ डलर तिरेर सामग्री नेपाल ल्याउँदैछन् ।

एक हजार केजीभन्दा माथीको सामान आयात गर्नेले १२ डलर प्रतिकेजी सामान नेपाल आयात गर्न सक्नेछन् भने हजार केजीभन्दा कम सामान आयात गर्नेले प्रतिकेजी १५ डलर तिनुपर्ने हुन्छ ।

भाडामा मनोमानी, मारमा उपभोक्ता
एउटा वाइड वडीले बोक्न सक्ने अधिकतम क्षमता २३० टन हो । जसमा फ्यूल क्यापासिटी क्षमता १ सय ३९ टन रहन्छ । यसको मतलब ९२ टन सामानमात्र बोकेर वाइड वाडीले नेपाल ल्याउँछ । ९२ टन सामान नेपाल आइपुग्दा आयातकर्ताले चार्टडवाला कम्पनीलाई प्रतिकेजी १२ डलरको दरले ११ लाख ४ हजार डलर तिर्छन् । यसको नेपाली भनेको १३ करोड २४ लाख हाराहारीमा पर्न आउँछ ।

चार्टर्डवालाले प्रतिघण्टा १८ हजार डलर नेपाल एयरलाइन्सलाई तिर्नुपर्छ । काठमाडौँ देखी ग्वान्जाओसम्मको आउन र जान लगभग ५ घण्टा उडान समय हो जसको प्लेन कस्ट ९० हजार डलर पर्न जान्छ यसको नेपाली रुपैयाँ भनेको लगभग १ करोड १० लाखको हाराहारीमा हुन्छ ।

१३ करोड रुपैयाँ आयातकर्तासँग असुलेर २ करोडको हाराहारीमा खर्च गर्दा चार्टर्डवालाको शर्तमा किन व्यपारी राजी अनी सरकार मौन ? अझ रोचक त के छ भने यसअघि उही सामान ल्याउन चार्टडवाला कम्पनीले प्रतिकेजी ८ डलर लिएको थियो तर अहिले १२ देखी १५ लिनुपर्ने कारणको यथेष्ट उत्तर कम्पनीसँग पनि छैन ।

चार्टडवालाको आफ्नै तर्फ , पीडाको चाङ
ग्वान्जाओदेखी काठमाडौँ सामान ल्याउने जिम्मा फ्ल्यास फ्रायड लजिस्टिक प्रा.ली (Flash Freight Logistics p. ltd) ले लिएको छ । यसरी मनोमानी रुपमा भाडा लिएको विषयमा उसको आफ्नै तर्क छ । फ्ल्यास फ्रर्यड लजिस्टिकका निर्देशन थोमस मुरे भन्छन् , “प्लेनको क्षमता ९२ टन भएपनि हामीले ल्याउने भनेको १८ देखी २० टनमात्र हो किनकी यो मेडिकल सामग्री धेरै हलुंगा तर धेरै स्पेस खान्छ । ”

उसले सामानमा यति चर्को मुल्य लागाउन पर्नुमा ह्यान्डलिङ चार्ज , एजेन्ट चार्ज , कस्टम क्लियरेन्स चार्ज , व्येर हाउस चार्ज सबै आफैले तिर्नुपर्ने हुँदा बढी परेको ओठे जवाफ दिन्छ ।

चार्टर्डवाला कम्पनीको दाबी यस्तो रहिरहने अनी यति महंगोमा सामान ल्याएर ति सामग्री कि त सरकारले नै किन्ने हो कि त नीजि अस्पतालले । यसको समग्र भार उपभोक्तालाई नै पर्ने हो । यो बेथितिको समाधानमा किन पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यान नभएको ?

सरकार गम्भिर भएन, सात दिनमा स्थलमार्गबाट सामान नेपाल आईपुग्छ : व्यवसायी
पहिल्लो समय छिमेकी देश भारतपनि कोरोनाको कारण आक्रान्त बनिरहेको छ । यो अवस्था बढ्दै जाने हो भने मेडिकल सामग्रीमात्र होइन दैनिक उपभोग्य वस्तुपनि चीनबाट आयात गनुपर्ने अवस्था आउन सक्छ । यहाँ अत्यावश्यक मेडिकल सामग्री ल्याउनसमेत यतिधेरै मूल्य तिर्नुपर्ने अवस्थामा हवाई मार्गबाट दैनिक उपभोग्य सामग्री ल्याउनपर्ने अवस्था आयो भने के होला ?

सरकारले नियमित उडानमा ३ डलरमा आउने सामानको चार्टर्ड प्लेनमा १२ देखी १५ डलर पर्दापनि मौनता साँधेर बसेको छ । अहिले ल्याउनुपर्ने मेडिकल सामग्री हवाईमार्ग बाहेकबाट सम्भब छैन या सरकारी निकायको मौनता भन्ने विषय गम्भिर बनेको छ ।

सरकारले चाहने हो भने चीन सरकारसँगको समन्वयमा ल्ह्यासासम्म हवाईमार्गको नियमित उडानबाट र त्यसपछि खासासम्म स्थलमार्ग हुदै सामग्री ल्याउने प्रवन्ध मिलाउनसक्ने झण्डै दुई दशकदेखी नेपाल चीन व्यपार गरिरहेका नेपाली जनसम्पर्क समिति चीनका सभापति राजन जमकटेल बताउँछन् । जमकटेलका अनुसार सरकारले तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा ल्याएर होस् वा केरुङ नाका हुँदै सामान ल्याएपनि सात दिनमा चीनको जुनसुकै ठाँउबाट नेपाल समान आयात गर्न सकिन्छ ।

अहिलेसम्म त मेडिकल सामग्रीको हाहाकार छ , कोरोना महामारीले भारतमा अझै भयावह अवस्था लिए दैनिक उपभोग्य वस्तुको समेत नेपालमा अभाव हुन्छ, त्यो अवस्थामा जनतालाई कसरी उपभोग्य वस्तु दिने ?

जमकटेलले भने, “हवाईमार्गबाट दैनिक उपभोग्य वस्तु आयातको सम्भावना झनै न्यून हो अनी स्थलमार्गको विषयमा अझै सरकारले सोच्दैन भने कहिले हाहाकार भएपछि ? विकल्प हुँदाहुँदै त्यतातर्फ सरकारको ध्यान नजानु दुर्भाग्य हो ।” यसको लागि सरकारले कुटनीतिक तवरबाट यो प्रवन्ध मिलाउन पर्नेहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?