काठमाडौं, २३ माघ – निर्वाचन आयोजले राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत् निर्वाचनको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बेल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले माघ २४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने जानकारी दिए । यादवद्वारा जारी लिखित वक्तव्य यस्तो थियो प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलका आदरणीय मतदाताज्यूहरू१. संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा यहाँहरू सबैलाई विदितै छ २. संविधान कार्यान्वयनकै क्रममा भोलि माघ २४ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको अवगत गराउन चाहन्छु । सातवटै प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले भोलि हुने मतदानका लागि गर्नुपर्ने सबै प्रकारका तयारी पूरा गरेको जानकारी आयोगलाई प्राप्त भएको छ । नेपाल सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन सबै मतदाताज्यूहरूमा आयोग हार्दिक आह्वान पनि गर्दछ ३. नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मत प्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् ४. महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणाली अनुसार मतदान हुने छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन् ५. यस निर्वाचनका लागि जम्मा २१ राजनीतिक दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट जम्मा ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६ जना उम्मेदवारले नाम फिर्ता लिनु भएको, एक जना उम्मेदवारको उम्मेदवारी रद्द भएको र २४ जना निर्विरोध निर्वाचित हुनुभएको छ । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसक्नु भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहनु भएको छ । माघ २१ गते राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भइसकेकाले निर्वाचन आचारसंहिताको पूर्ण पालना सबै पक्षबाट हुनेमा आयोग ढुक्क रहेको छ प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलका आदरणीय मतदाताज्यूहरू६. भोलि हुने निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउनका लागि १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको थियो । तर प्रदेश नम्बर २ मा आठै जना सदस्यहरू निर्विरोध निर्वाचित भइसक्नु भएकाले त्यहाँ मतदान गर्नु नपर्ने र अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ ७. प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यका लागि मतदान हुने छ । प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ भने प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाले अन्य सदस्यमा निर्वाचन हुने छ । यसैगरी, प्रदेश नम्बर ५ मा महिला ३ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसक्नु भएकाले अन्य ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा ५ सदस्यमा निर्वाचन हुने भएको छ । त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा निर्वाचन हुँदैछ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्यमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यमा निर्वाचन हुने जानकारी गराउँछु ८. प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता रहनुभएको छ । त्यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका ५५० मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान रहेको छ । प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित हुनु भएकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् १०. विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वतिक चिह्नको प्रयोग हुने छैन । मतदानका लागि प्रदेश सभाका सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङ्गको मतपत्रमा मत सङ्केत गर्नु हुनेछ । तीन महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्ने छ भने महिला १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्ने छ । साथै स्थानीय तहका मतदाताले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेश सभा सदस्यले एउटा मतपत्रमा सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले एउटै पनि मत बदर नहुने गरी मत संकेत गर्न र गर्ने व्यवस्था मिलाउनका लागि आयोग सबै राजनीतिक दल, उम्मेदवार र निर्वाचनका लागि खटिएका कर्मचारीहरूसँग अपील गर्दछ ११. निर्वाचनमा निर्वाचक मण्डल (इलोक्टोरल कलेज) को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आपूm निर्वाचित भएको प्रमाण पत्र हराएमा वा बिग्रिए नासिएको भएमा मतदाताको मताधिकारलाई सुरक्षित गर्न स्थानीय तह निर्वाचन वा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ का लागि आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले यसअघि नै निर्देशन दिइसकेको छ १२. निर्वाचनमैत्री वातावरण बनाउन नेपाल सरकार, राजनीतिक दल, उम्मेदवारहरू र सबै सरोकारवालाहरूसँग आयोग हार्दिक आग्रहसमेत गर्दछ । साथै मतदाताहरूले पनि अत्यन्त संयम र शान्तिपूर्ण तरिकाले मतदान गर्नु हुने छ भन्नेमा आयोग विश्वस्त रहेको छ १३. मतदान सकिए लगत्तै मत गणना कार्य सुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ । मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले ६ वटै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाएको छ । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी पनि आयोगले गरेको जानकारी गराउन चाहन्छु १४. राष्ट्रिय सभा सदस्यको निर्वाचनको अन्तिम मत परिणाम आए लगत्तै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गरी विभिन्न दलहरुले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थे्रसहोल्ड) ३ प्रतिशतभन्दा बढी मत ल्याउने दलहरुको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारहरुमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई तीन दिनको समय दिएर पत्राचार गर्ने छ । दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह मिले नमिलेको जाँच गरी नमिलेको भएमा मात्रै दलहरूलाई सच्चाउन पुनः दुई दिनको समय दिइने व्यवस्था मिलाइएको छ । दलहरूबाट विगतमा जस्तै तोकिएको समयमै नाम प्राप्त हुनेमा आयोग विश्वस्त रहेको छ । सबै तयारी र प्रक्रिया पूरा गरी प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्न आयोग दृढ सङ्कल्पित रहेको जानकारी पनि यसै पत्रकार सम्मेलनमार्फत सबै सरोकारवालालाई गराउन चाहन्छु आदरणीय पत्रकारज्यूहरू,अन्त्यमा, आयोगको निमन्त्रणालाई स्वीकार गरी आउनु भएकोमा सबै सञ्चारकर्मीलाई आयोगको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । निर्वाचनको संवेदनशीलतालाई मनन् गरी मतदातामैत्री सत्य, तथ्य र विश्वसनीय समाचार सामग्रीहरू सदाझै सम्प्रेषण गरेर सूचना पाउने नेपाली जनताको हकको सम्मान गर्न आयोग सबै मिडियाकर्मी मित्रहरूलाई सविनय अनुरोध गर्दछ । धन्यवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया