मुख्यमन्त्री र सभामुख बन्न दौडधुप तीव्र, कुन प्रदेशमा को-को दौडधूपमा ?

काठमाडौँ, २३ माघ- प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ । फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने  छ  एमालेले प्रदेश ५ मा मात्र संसदीय दलको नेता चयन गरेको छ । अन्य ५ प्रदेशमा वामपन्थी गठबन्धनका तर्फबाट संसदीय दलको नेता चयन हुन बाँकी छ वामपन्थी गठबन्धनले मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबन्डा गरेका छन् । त्यसमा एमालेले प्रदेश १ र ३ मा मुख्यमन्त्री र सभामुख दुवै पद पाउने छ भने प्रदेश ४ र ५ मा मुख्यमन्त्री र उपसभामुख लिनेछ । माओवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री र उपसभामुख तथा प्रदेश ४ र ५ मा सभामुख लिनेछ । एमालेले प्रदेश ४ र ५ मा उपसभामुख र माओवादीले प्रदेश १ र ३ मा उपसभामुख लिने सहमति छ । यो सहमतिपछि दुवै दलभित्र मुख्यमन्त्री र सभामुख को बन्ने भन्ने प्रतिस्पर्धा बढेको हो कान्तिपुर दैनिक लेख्छ- एमालेले प्रदेश ५ मा शंकर पोखरेललाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेकाले उनी नै मुख्यमन्त्री बन्ने निश्चित छ । त्यस्तै प्रदेश ७ मा माओवादीले त्रिलोचन भट्टको नाम प्रदेश कमिटीबाट सर्वसम्मत रूपमा केन्द्रमा सिफारिस गरेको छ । त्यसैले भट्ट नै त्यहाँ माओवादी संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने करिब निश्चित भएको छ प्रदेश २ मा संघीय समाजवादी फोरमका लालबाबु राउत संसदीय दलको नेता चयन भइसकेका छन् र उनी नै मुख्यमन्त्री बन्ने करिब निश्चित भएको छ । फोरम र राजपाबीच मुख्यमन्त्री र सभामुख बाँड्ने सहमति भएको थियो । त्यसअनुसार फोरमको भागमा मुख्यमन्त्री परेकाले राउत नै बन्ने निश्चित छ प्रदेश १ र ३ मा एमाले एक्लैको बहुमत रहेकाले मुख्यमन्त्री र सभामुख दुवै एउटै दलको भागमा छ । त्यसैले यी दुई प्रदेशमा मुख्यमन्त्री र सभामुखका आकांक्षी व्यवस्थापन गर्न गाह्रो परेको छ । प्रदेश १ मा केन्द्रीय सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका आकांक्षी छन् । दुईजनाको प्रतिस्पर्धाका बीच केन्द्रीय सदस्य जीवन घिमिरेले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् । केन्द्रबाट नमिले आउँदो २६ गते संसदीय दलले चुनावबाटै नेता छान्ने सम्भावना छ । यो प्रदेशमा सभामुखमा भने गणेश काङबाङ र उषाकला राईले आकांक्षा देखाएका छन् त्यस्तै प्रदेश ३ र ४ मा पनि आकांक्षीको व्यवस्थापनमा समस्या छ । वाम गठबन्धनका तर्फबाट एकमात्र महिला मुख्यमन्त्री दाबेदार रहेकाले प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको सम्भावना छ । तर राजेन्द्र पाण्डेले पनि शाक्यलाई पछि पार्दै आफू मुख्यमन्त्री बन्ने लबिइङ तीव्र बनाएका छन् । उनले मतदानमै जानुपर्नेमा जोड दिइरहका छन् भने शाक्य सहमतिबाट चयन गर्नुपर्ने पक्षमा छिन् । मतदानमा जाँदा पाण्डेले आफ्नो पक्षमा बहुमत पुग्ने अनुमान गरेका छन् प्रदेश ३ मा सभामुखका लागि भने हाल ज्येष्ठ सदस्यका रूपमा सभा सञ्चालन गरिरहेका डोरमणि पौडेल प्रबल दाबेदार देखिएका छन् । तर मुख्यमन्त्रीका आकांक्षीमध्ये कोही सभामुख बन्न तयार भए पौडेल वा अन्य आकांक्षीको नाम काटिन सक्छ । मुख्यमन्त्री तथा सभामुख दुवै पदका लागि रामेश्वर फुयाल, कैलाश ढुंगेल, अरुण नेपाललगायतले पनि संसदीय दलभित्र आफ्नो आकांक्षा प्रकट गरिरहेका छन् प्रदेश ४ मा केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीका आकांक्षी छन् । माओवादीबाट सभामुखमा आशा कोइराला, हरिबहादुर चुमान, लेखबहादुर थापालगायत आकांक्षा देखाएका छन् प्रदेश ५ मा मुख्यमन्त्री बन्ने गरी एमालेका शंकर पोखरेल सर्वसम्मत भइसकेका छन् । चुनावअघि नै पोखरेललाई मुख्यमन्त्री बनाउने गरी दुवै दलमा सहमति भएकाले यो प्रदेशमा मुख्यमन्त्रीको विषयलाई लिएर आन्तरिक झगडा नै भएन । सभामुखमा भने माओवादीभित्र तीन जनाको विशेष दौडधुप छ । कुलप्रसाद केसी, दामा शर्मा र कृष्णध्वज खडका सभामुखका लागि आन्तरिक दौडधुपमा छन् प्रदेश ६ मा मुख्यमन्त्री र सभामुख दुवै पदमा आकांक्षीको व्यवस्थापन गर्न गाह्रो भएको छ । मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् सभामुखमा भने एमालेका चन्द्रबहादुर शाही, गुलावजंग शाह र राजबहादुर शाही आकांक्षी छन् प्रदेश ७ मा मुख्यमन्त्रीको विवाद सकिए पनि सभामुखमा एमालेबाट को बन्ने भन्नेमा विवादै छ । त्यहाँ दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश शाहले आकांक्षा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?