अमेरिकामा कोरोनाबाट हुनसक्छ एक लाख बढीको मृत्यु

हाल कोरोना भाइरसको महामारी भोगिरहेको अमेरिकामा ठूलो मानवीय क्षतिको जोखिम रहेको आँकलन विज्ञहरुले गरेका छन् ।
ह्वाइट हाउसका कोरोना भाइरस रेस्पोन्स कोअर्डिनेटर डाक्टर डेबोरह ब्रिक्सले संघीय सरकारले ल्याएका निर्देशिका प्रभावकारी रुपमै कार्यान्वयन भएपनि १ लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्ने खतरा रहेको बताइन् ।

डोनल्ड ट्रम्प सरकारले देशभर मानिस–मानिसबीच सामाजिक दूरी कायम गर्नेगरी नयाँ निर्देशिका जारी गरेको छ ।

भीडभाडमा नजाने र घरबाटै काम गर्नुपर्ने यो निर्देशिकामा उल्लेख छ भने यो ३० अप्रिलसम्म कायम रहनेछ । राष्ट्रपति ट्रम्पले सम्भावित मृत्युको खतरामा रहेका दशौं लाखको ज्यान जोगाउन यो निर्णय लिनुपरेको बताएका छन् ।
यसअघि हप्तौंसम्म भाइरसलाई हल्का रुपमा लिएका ट्रम्प अहिले चिन्तित बनेका छन् ।

अमेरिकामा मृतकको संख्या ३ हजारभन्दा बढी पुगिसकेको अवस्थामा उनले भाइरस रोकथामका लागि सामाजिक दूरीलाई थप ३० दिन पालना गर्नुपर्ने अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?