दुई सय विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

पाँचथर । पाँचथर सदरमुकाम फिदिमस्थित एक विद्यालयमा अमेरिकाको न्यूवर्क निवासी एक नेपाली दम्पतीले दुई सयजना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

फिदिम नगरपालिका ४ जोरसालमा रहेको सुखबोध माध्यमिक विद्यालयकी पूर्व विद्यार्थी रञ्जना तुम्बापो र उनका श्रीमान झापाको दमकका निमा तामाङले शैक्षिक सामग्री वितरण गरेका हुन् ।

दम्पतीले १७ हजार रुपैयाँ बराबरको कपी, कलम साथै इलेजर प्रदान गरेका हुन् । उनीहरुले विहिबार विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरेका हुन ।

दम्पतीले विद्यालयमा सञ्चालन भईरहेको अंग्रेजी शिक्षाको निरन्तरता साथै विद्यालयले सञ्चालन गर्ने प्रविधिक धार तर्फ कृषिबाली विज्ञानको स्थापनाको लागि ७ हजार रुपैयाँ नगद समेत प्रदान गरेका छन् ।

विद्यालयलाई सहयोग गर्दै पूर्व विद्यार्थी तुम्बापोले आफु पढेको विद्यालयलाई सहयोग गर्न पाउनु ठुलौ सौभाग्य मिलेको बताएकी छिन् । उनले विद्यालयमा सानो सहयोगले बालबालिकाको शैक्षिक विकासका निम्ति सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले आगामी दिनमा पनि विद्यालयलाई यस्ता खाले सहयोग गर्ने प्रतिबद्धतासमेत गरेकी छिन् ।

कक्षा १० सम्म पठनपाठन भइरहेको यस विद्यालयमा २०७३ साल देखि नेपाली माध्यमसँगै अंग्रेजी माध्यममा पनि पठनपाठन भईरहेको छ । आभिभावकहरुको अंग्रेजी शिक्षा प्रतिको मोह र सरकारी विद्यालयमा दिनानु दिन विद्यार्थीको घट्दो उपस्थितीलाई मध्यनजर गर्दै विद्यालयले अंग्रेजी माध्यममा समेत शिक्षा प्रदान गरिरहेको शिक्षक नविन भट्टराईले बताए ।

शैक्षिक सामग्री प्रदान गर्ने दम्पतिलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?