पशुपति पुगेर राष्ट्रपतिद्वारा पूजा आराधना

महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । आज साँझ पशुपतिनाथ मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य–सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गर्नुभएको कोषका सदस्य–सचिव ढकालले जानकारी दिनुभयो । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिनुभएको थियो ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गर्नुभएको थियो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?