संकटालाई पराजित गर्दै मछिन्द्र लिग शीर्ष स्थानमा

काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई र दिपक राईले एक एक गोल गरे । संकटाका मेसोउकेले एक गोल फर्काए ।

खेलको ४४ औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रञ्‍जित धिमालको कर्नरमा हेड गोल गरेका थिए ।

खेलको ६४ औं मिनेटमा विशालले फ्रिकिकबाट गोल गर्दै मछिन्द्रलाई २(० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा संकटाका मेसोउकेले एक गोल फर्काएपनि मछिन्द्र ३-१ ले विजयी भयो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको मछिन्द्रले १२ खेलमा २८ अंक जोडको छ । मछिन्द्रले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पारेको छ । दोस्रो स्थानमा झरेको आर्मीको २६ अंक रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?