NULL

भारतले डोकलामबाट सबक सिकेको हुनुपर्छ ः चीन बेइजिङ, ८ माघ । चिनियाँ विदेशमन्त्रालयले डोकलाम चीनको भूभाग भएको र चीनले यस क्षेत्रमा सडक बनाउनु पूर्ण जायज भएको बताएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु कांगले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा डोकलाम विवादबाट भारतले ठूलो सबक सिक्नुपर्ने बताएका छन् । हालैमात्र केही भारतीय मिडियाले स्याटेलाइटबाट लिइएको तस्बिर छाप्दै चीनले यो विवादित क्षेत्र नजिकै आफ्नो ठूलो सैन्य क्याम्प निर्माण गरेको र सैन्य तथा सडक निर्माणका सामग्री राखेको देखिएको उल्लेख गरेका थिए । चीनले यसरी निर्माण सामग्री राखेको भनिएको डोकलामको यो क्षेत्रमा गत वर्ष भारत र चिनियाँ सेना आमनेसामुने हुँदा युद्धको सन्त्रास फैलिएको थियो । यद्यपि भारतीय विदेश मन्त्रालयले विवादित स्थानमा केही पनि नभएको बताएको छ । तर भारतीय राजनीतिक पार्टीले भने चिन्ता व्यक्त गरेका छन् । बेइजिङमा भएको एक पत्रकार सम्मेलनमा लु कांगले यो मामलामा गरिएको प्रश्नको उत्तरमा भने, ‘मैले पनि यो रिपोर्ट हेरे र मलाई आश्चर्य लाग्यो कि तस्बिर कसले उपलब्ध गरायो ।’ उनले डोकलाम विवादमा चीनको भनाई स्पष्ट गर्दै भने, ‘डोकलाम चीनको भाग हो र सधैं चीनको अधिकार क्षेत्रमा रहनेछ । यस बारेमा कुनै सन्देह छैन ।’ ‘चीनले यो इलाकामा आधारभूत ढाँचा बनाउनका लागि निर्माण गतिविधि चलिरहेको छ । जस्तो कि त्यहाँ रहेका मानिसहरु र सैनिकका लागि सडक बनाउनु पनि हो । यो वैध हो र कानुनको दायरामा नै रहेको छ ।’ गत वर्षको अगस्टको अन्तिममा सिक्किम नजिकै रहेको डोकलामबाट भारत र चीनले आफ्ना सैनिक फिर्ता बोलाउने निर्णय गरेका थिए । यसअघि ७३ दिनसम्म भारत र चीनका सेनाबीच तनावको अवस्था सिर्जना भएको थियो । उनले भने, ‘हामीलाई विश्वास छ कि भारतले यसबाट सबक सिक्यो र यसको पुनरावृत्ति हुनेछैन । गत वर्ष शियामेनमा भएको ब्रिक्स सम्मेलनका क्रममा दुवै देशेले आपसी सम्बन्ध बलियो बनाउन सहमति जनाएका थिए । भारत यो दिशामा अघि बढ्नेछ भन्ने हामीलाई विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?