राष्ट्रियसभा निर्वाचन : आज मनोनयन दर्ता, कुन-कुन दलबीच तालमेल ?

काठमाडौं । माघ ९ गते हुँने राष्ट्रिय सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज विहान १० बजे देखि ३ बजेसम्म उमेद्वारले मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यमा १८ जना निर्वाचनका माध्यमबाट चयन हुने छन् । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन व्यवस्था छ । उमेद्वारहरूले प्रदेश १ को मोरङ, २ को धनुषा, ३ को ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गर्नुपर्नेछ ।

प्रदेश १ मा ३ सय ६७ जना मतदाता छन् । प्रदेश २ मा ३ सय ७९ जना मतदाता रहेका छन् । प्रदेश ३ मा ३ सय ४८ जना मतदाता रहनेछन् । लगण्डकी प्रदेशमा प्रदेशमा २ सय ३० जना छन् । प्रदेश ५ मा ३ सय ५ जना मतदाता छन् ।
कर्णालीमा प्रदेशमा १ सय ९८ जना र सुदूरपश्चिममा प्रदेशमा २ सय २९ जना मतदाता छन् ।

मनोनयन दर्ताका लागि नागरिकता, मतदाता नामावलीको उतार र धरौटी जम्मा गरेको भौचर वा नगदी रसिद पेस गर्नुपर्नेछ ।
निर्वाचनका लागि सातवटा प्रदेशमा गरी प्रदेशसभा सदस्य कुल ५ सय ५० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहने आयोगले जनाएको छ ।

कस-कसको सकिदैछ कार्यकाल ?

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल आगामी फागुन २१ सकिदैछ ।

सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा ,कमलाकुमारी ओली, कालीबहादुर मल्ल, खेमराज नेपाली ।

कुन–कुन दलको तालमेल ?

राष्ट्रिय सभा निर्वाचनमा नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा)सँग र कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ । शुक्रवार नेपाली कांग्रेस र समाजवादी दलबीच प्रदेश २ मा हुने चार सीटको निर्वाचनमा सहकार्य गर्ने सहमति जुटेको थियो ।

नेपाली कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक एवं समाजवादी पार्टीको तर्फबाट दलित र अन्य उम्मेदवारको बीचमा तालमेल गर्ने सहमति भएको जनाइएको छ । दुवै पार्टीबीच भएको एकबुँदे सहमति भएको छ । दुई साताअघि राजपा र नेकपाबीच राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो ।

राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । उमेद्वार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?