कांग्रेसले चुन्यो राष्ट्रियसभाका १६ उम्मेद्वार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

शनिवार विहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवारको टुंगो लगाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुरसार प्रदेश ६ का दुई उम्मेदवारको भने टुंगो लाग्न बाँकी रहेको छ ।

प्रदेश १ बाट महिलामा मिना पुलामी मगर,दलितमा निरबहादुर विश्वकर्मा र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको हो ।

प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यक तथा अपाङ्गताको कोटामा भोला पन्जियारलाई उम्मेदवार बनाइएको छ । दलित र अन्य पदमा भने कांग्रेसले समाजवादी पार्टीलाई सघाउने भएको छ ।

त्यस्तै प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् । गण्डकी प्रदेशबाट महिलामा विमला गौचन र अन्यमा सूर्यप्रसाद रेग्मीले टिकट पाएका हुन् ।

प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने तथा अल्पसंख्यंक र अपांगता कोटामा मेराज हलवाईले टिकट पाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?