ठूलो धनराशी खर्च गरेर बनाईएका पूर्वाधार मर्मतमा सबै गम्भिर हुनुपर्छ : मन्त्री नेम्बाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्तकुमार नेम्बाङले ठूलो धनराशी खर्च गरेर बनाईएका पूर्वाधारको मर्मतमा सबै गम्भिर हुनुपर्ने बताएका छन् ।

सडक बोर्ड नेपालको १७ औँ बार्षिक उत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । उनले भने– “मुलुकले ठूलो धनराशि लगानी गरि निर्माण गरेको सडक पूर्वाधारको प्रभावकारी एवम गुणस्तरिय मर्मत संभार गर्ने कार्यमा सबै तहरु गम्भिर हुनु पर्ने अहिलेको आवश्यकता छ ।”

नेम्बाङले केन्द्रिय स्तरको रणनितिक सडकहरुको निर्माण एवम मर्मत संभार सम्बन्धित कार्य सडक विभागबाट गरिदै आएका बताएका छन् । प्रदेश र स्थानीयतहरुले स्थानीय स्तरको सडकहरुको निर्माण तथा मर्मत संभारमा समान जिम्मेवारी रहेको नेम्बाङको भनाई छ ।

उनले नागरिकसम्म यातायातको पहुँच पुर्याउन सडक यातायातलाई जोड दिइएको नेम्बाङको भनाई छ । विगतमा निर्माण सम्पन्न भएका र हाल निर्माणाधिन सडकको निरन्तर मर्मत संहार एवम सम्वद्र्धन गर्न आवश्यक भएको बताएका छन् ।

उनले भने –“सडक पूर्वाधारको योजनाबद्ध मर्मत संभार गर्ने कार्यमा देखिएका कमि कमजोरीहरु निराकरण गरि प्रभावकारी ढंगबाट सञ्चालन गर्न आवश्यक देखिएको मैले महसुस गरेको छु । नागरिकलाई भर पर्दो सुविधायुक्त सडक यातायातको सुविधा पुर्याउन लागि परेका छौं । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मन्त्रालय अन्तर्गतका सबै निकायहरु क्रियाशिल भएर लागि परेका छौँ । ”

उनले नेपाल सरकारले उत्तर तथा दक्षिण सीमापार सडकको विस्तार गर्ने क्रममा मेची, कोशी, गण्डकी र कर्णाली करिडोरका सडक निर्माण कार्य उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका छन् । तराईमा हुलाकी सडक, मदनभण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग र काठमाडौं–नीजगढ दुर्तमार्ग निर्माणको कार्य भइरहेको भइरहेको समेत कार्यक्रममा जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?