पौडेल समूहका कारण कांग्रेस बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बुधबारको बैठकमा पनि उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पौष ४ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताए । उनले विवादहरुका विषयमा निरन्तर छलफल भइराखेको र सम्भवतः ३ गते साँझसम्ममा सबै विवादहरु टुंगोमा पुग्ने वातावरण बन्दै गएको समेत बताए ।
कांग्रेस भित्र रहेका विभागहरुको संख्या बढाई २८ बाट ४१ पु¥याउने र १४ औं महाधिवेशन पछाडि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समुहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ । दुई पक्षबीचको विवादका कारण एकसाता देखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?