सुगौली सन्धीबारे प्रचण्डले मुख खोले !

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग मिचेर बनाएको नक्सा नेपाललाई मान्य नहुने बताउनुभएको छ । नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले भन्नु भयो महाकालीदेखिको पूर्वको भूभाग सबै नेपालको भूभाग भएको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभयो–‘महाकालीदेखी पूर्व नेपाल, पश्चिम भारत हो, अन्य कुरा मान्य छैन ।’ १८१६ को सुगौली सन्धी, त्यसपछिका चिठीपत्र र सुगौली सन्धीपछि छापिएका औपचारिक र वैधानिक नक्साले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकोले सोही अनुरुप अघि बढ्नुपर्ने उहाँको भनाइ रहेको छ । प्रचण्डले भन्नुभयो–‘सुगौली सन्धीले महाकाली नदी नै सीमा भनेको छ, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।’

सीमा विवादको विषयमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको भन्दै प्रचण्डले नेपाली गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक समय आएको जनाउनुभएको छ । सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्ने जानकारी दिनुभएको छ ।

यस्तै अध्यक्ष प्रचण्डले यसअघि पराजित भोगेको स्थानामा हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेद्वारले जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँ भन्नुभयो–‘पहिले नजितेको ठाउँमा अहिले जित्ने संभावना छ, त्यसका लागि हामी एकतावद्ध भएर रात दिन खट्न पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?