‘दुर्लभ वन्यजन्तुहरुको शून्य चोरी शिकार नेपालको सफलता’

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले वन्यजन्तु संरक्षणमा चोरी शिकार शून्य गर्न नेपालले सफलता हासिल गरेको बताउनुभएको छ । चितवनको सौराहामा शुरु भएको नवौँ विश्व रेन्जर सम्मेलनमा मन्त्री बस्नेतले शून्य चोरी शिकारका लागि संरक्षणकर्मी र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृक्त आयोजनामा सौराहामा मंगलबार देखि शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले रेन्जरको काममा प्रभाव पार्ने मुद्दामा छलफल गर्नुका साथै साझेदारीका अवसर सिर्जना गर्नमा यस सम्मेलनले ठूलो अवसर प्रदान गर्ने बताउनुभयो ।

सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उहाँको भनाइ रहेको छ ।

मन्त्री बस्नेतले भन्नुभयो; आफ्नो जीवनलाई जोखिममा राखेर संरक्षण गर्ने रेन्जर सच्चा ‘हिरो’रहेको बताउनुभयो । दुर्लभ वन्यजन्तु बाघ, गैँडा जस्ता जनावरको सङ्ख्या वृद्धि गरी चोरी शिकार नियन्त्रण गरेर नेपालले अन्तर्राष्ट्रिय समुदाय सामु गरेको वाचा पूरा गरेको मन्त्री बस्नेतले जनाउनुभएको छ ।

अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन-तीन वर्षमा हुँदै आएको छ ।

यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्ने कार्यक्रम रहेको वन तथा वातारण मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आआफ्ना प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानव द्वन्द्व न्यूनीकरणका विषयमा विज्ञले आआफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने बताइएको छ । वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरुको साझा संस्था आइआरएफ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?