काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटिएको विषयबारे छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका अनुसार सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा बोलाइएको हो ।
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरिएपछि नेपालमा चर्को विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।
यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो । समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताउनुभयो ।
यस विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय, सर्वपक्षीय बैठक बोलाउनुभएको थियो । सर्वदलीय बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको निष्कर्ष निकाल्दै नेपाली भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया