क्वन्टास एयरलाइन्सले रच्यो नयाँ कीर्तिमान, ‘ननस्टप’ १९ घण्टा १६ मिनेट उडान

एजेन्सी । क्वन्टास एयरलाइन्सले बढी उडान गरेर नयाँ कीर्तिमान रचेको छ । लगातार १९ घण्टाभन्दा बढी उडान गरेर क्वन्टास एयरलाइन्सले उक्त कीर्तिमान रचेको हो ।
न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार शनिबार राति ९ बजे ५० यात्रु तथा चालक दलका सदस्य लिएर उडेको थियो ।

विमान न्युयोर्कबाट सिड्नीका लागि उडेको थियो । विमानलाई न्युयोर्कबाट सिड्नीसम्म पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो जुन १६ हजार २०० किलोमिटरको दूरीमा थियो ।

यति लामो दूरी पार गर्न विमानहरु ठाउँठाउँमा ‘ट्रान्जिट’ बनाउने गर्दछन् । तर, क्वन्टासले लामो दूरीमा ‘ननस्टप’ व्यावसायिक उडान गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो ।

१९ घण्टाभन्दा लामो समय लगातार विमानमा सवार रहेका चालक दलका सदस्य तथा यात्रुको स्वास्थ्य, मानसिक अवस्था लगायतका विषयमा गम्भीर अनुसन्धान गरी यस प्रकारको व्यावसायिक उडानलाई बढी सुरक्षित र जोखिमरहित बनाउन पहल गरिने अधिकारीहरुले जनाएका छन् ।

यति लामो समयसम्म लगातार व्यावसायिक उडान गरेको यो नै पहिलो पटक हो । यसअघि सिंगापुर एयरलाइन्सले १८ घण्टा ५० मिनेटसम्म लगातार उडान गरेको थियो । उक्त एयरलाइन्सले न्युयोर्कबाट सिंगापुरसम्म १५ हजार ३४४ किलोमिटरको यात्रा ट्रान्जिट बिना नै पार गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?