पाँच हजार खसीबोका काठमाडौँ ल्याईदै

काठमाडौं । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् ।

मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा काठमाडौँ तथा अन्य शहर पठाउन थालिएको हो ।

दशैँ र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौँ लगायतका अन्य शहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष गङ्गा चन्द ठकुरीले जानकारी दिनुभयो ।

केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भन्नुभयो, “अहिले बजारमा खसीबोका छैनन् भनेर कृत्रिम अभाव देखाउने र चर्को मूल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यापारी हुनुहुन्छ ।

अहिले पनि हामीसँग ५०० भन्दा बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन् । हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?