काठमाडौं, ५ मङ्सिर- एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् उनी आसन्न निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवार होइनन् तैपनि उम्मेदवारभन्दा व्यस्त छन् । उनलाई पार्टी (एमाले) ले मूल निर्वाचन परिचालन कमिटीको प्रवक्ताको जिम्मेवारी दिएपछि व्यस्तता ह्वात्तै बढेको हो ‘अहिले पहिलेझैं रुटिङमा चल्दैन जिन्दगी,’ रिमालले पछिल्लो व्यस्तताका विषयमा कुरा गर्दै भने, ‘बिहान उठेदेखि अनगिन्ती फोन, जिल्ला-जिल्लाका निर्वाचन परिचालनको समन्वय, दैनन्दिन बनाउनुपर्ने कार्यक्रमले खाना खाने, सुत्नेसम्मको समय बदलिएको छ ।’ उनी अहिले हरेक दिन बिहानै ८ बजे नै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय पुगिसकेका हुन्छन् । ‘बेलुकी कति बेला घर पुग्ने ठेगानै हुन्न,’ उनले भने एमालेमा समग्र निर्वाचन परिचालनका लागि पार्टी अध्यक्ष केपी ओली आफैंले जिम्मेवारी लिएका छन् । उनको कार्यव्यस्तता र आफैं झापा ५ को उम्मेदवारसमेत रहेकाले रिमाललाई कार्यभार थपिएको हो । उनीलगायत एमाले अनुशासन विभाग संयोजक अमृत बोहोरा, मुकुन्द न्यौपाने, अग्नि खरेल, डा. पुष्पराज कँडेललगायत नेता निर्वाचन परिचालनको काममा व्यस्त छन् कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पनि रिमाललाई जस्तै ‘भ्याइनभ्याइ’ छ । जिल्लाबाट आउने सूचना केन्द्रित गर्ने, निर्वाचन परिचालनको नयाँ योजना बनाउने र बनाइएको योजना कार्यान्वयनमा लैजान नेता-कार्यकर्ता परिचालन गर्ने काममा उनी व्यस्त छन् । पार्टी सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व र डडेलधुराबाट प्रत्यक्षतर्फका उम्मेदवार रहेका कारण कांग्रेसले नेता खाँणकै नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको छ उनी नेतृत्वको परिचालन समितिअन्तर्गत रहने गरी कांग्रेसले विभिन्न उपसमिति गठन गरेको छ । ती सबै उपसमितिलाई परिचालन गर्ने, पार्टी नेतासँग समन्वय गर्ने र बाहिरी सञ्चारसँग पनि उत्तिकै सम्पर्कमा रहनु पर्दा खाँणसँग अहिले समय हुँदैन माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाको व्यस्तता पनि उस्तै छ । माओवादीले केन्द्रमा पार्टी अध्यक्षले नै हेर्ने गरी प्रदेश, जिल्ला र क्षेत्रीयस्तरमा निर्वाचन परिचालन समिति बनाए पनि केन्द्रीय निर्वाचन परिचालन समिति भने बनाएको छैन । तर वरिष्ठ नेता थापा कतै पनि उम्मेदवार नभएका कारण दैनन्दिन कार्यालयमा आउने सूचना केन्द्रित गर्ने, पार्टी अध्यक्षलगायत नेतासँग समन्वयमा रहने र नयाँ परिचालनका योजना बनाउनेमा व्यस्त देखिएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया