काठमाडौं । माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ ।
मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो ।
नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ ।
पछिल्लो समय पार्टी भोजलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौको मागसमेत दिनानुदिन बढ्दो छ र व्यापार पनि फस्टाएको छ ।
भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । जुजु धौको माग बढेपछि नगरका टोलटोलमा जुजु धौ पसल खोलिएका छन् ।
जुजु धौ उत्पादनका हिसाबले मात्र होइन, यसको बिक्रीवितरणका हिसाबले पनि यो व्यवसाय दिनदिनै फस्टाएको भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्णगोपाल सैंजुले बताए ।
“ठूला विवाह ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले समेत अचेल जुजु धौ प्रयोग गर्दछन्”, सैंजुले भने , “यसले पनि जुजु धौको माग बढेको हो ।”
एकपटक यसको स्वाद चाखेपछि यसैमा मन बस्ने भएकाले पनि काठमाडौँ उपत्यकामा मात्र नभई काभ्रेको बनेपा, पनौती र धुलिखेलसम्म जुजु धौको माग बढेको सैंजुले बताए ।
उनले भने, “भक्तपुरका जुजु धौ व्यवसायीलाई काठमाडौँ र काभ्रेका पसलमा जुजु धौ पु¥याउन भ्याइनभ्याइ नै हुन्छ । झन् विवाहको ‘सिजन’मा त माग धान्नै धौधौ हुने गर्दछ ।”
जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो ।
यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्ने सैंजुले बताए । उनका अनुसार डेरीको दहीमा दूधको सबै ‘फ्याट’ निकालेर पाउडर मिसाई वाफले मात्र तताएर दही उत्पादन गरिन्छ, तर जुजु धौ त्यस्तो हुँदैन ।
“जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिन्छ”, उनले भने, “जुजु धौ बनाउन कम्तीमा पाँच प्रतिशत फ्याट भएको दूध चाहिन्छ ।”
जुजु धौ बनाउन दूधलाई बाक्लो हुनेगरी राम्रोसँग चलाउँदै कराइमा उमाल्नुुपर्दछ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्नुपर्दछ ।
उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही (जोर्डन) राख्नुपर्दछ र न्यानो हुनेगरी छोपेर राख्नुपर्दछ । यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया