सवारी दर्तामा समस्या, नाडाले गरायो जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण

लोकपथ
0
Shares

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) ले सवारीसाधन दर्ताको सम्बन्धमा देखा परेको समस्याबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग छलफल गरेको छ ।

बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलसँग भेटघाट गरी त्यस विषयमा छलफल गरेको हो ।

महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा समेत सवारीसाधन दर्ता सम्बन्धी कार्यको चाप बढिरहेको अवस्थामा कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा समस्या परेको ध्यानाकर्षण गराए । साथै सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न समेत कठिनाइ भइरहेको र कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीको तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारीसाधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्ने भए तापनि कार्यालयमा हुने नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण उक्त कार्य सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेकोले यस विषयमा तत्काल सहयोग र समन्वयका लागि अनुरोध आग्रह गरेका हुन् ।

छलफलका क्रममा नाडाका सचिव तथा टु ह्वीलर समितिका सभापति मेघराज पौडेलले गत असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडा प्रतिनिधिहरुले भेटगरी उक्त विषयमा समाधानका लागि छलफल समेत गरिसकेको जानकारी दिए ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले यस विषयमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुसँग छलफल र समन्वयगरी समस्याको समाधान गरिने बताए । उक्त भेटघाट तथा छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह, नाडा टु ह्वीलर समितिका सदस्यद्धय योगेन गुरुङ्ग तथा दिपक रौनियार समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?