सरकारको कामकारबाहीप्रति कांग्रेसको प्रश्न : ‘बहुमतको दम्भ कि कार्यकुशलताको अभाव ?’

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बहुमत प्राप्त वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै आङदेम्बेले जनताले खोजेको बलियो सरकारले ‘कमजोर शासन’ सञ्चालन गरिरहेको भन्दै सरकारको नेतृत्वको कार्यकुशलतामाथि प्रश्न उठाएका हुन् ।

उनले जनादेशको सम्मान गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा सरकार ‘झिना–मसिना’ विषयमा अल्झिएको टिप्पणी गरे । पाँच वर्षका लागि स्पष्ट बहुमत प्राप्त सरकारले त्यसको सदुपयोग गर्दै नागरिकको जीवनस्तर उकास्नुपर्ने भए पनि शासकीय कार्यकुशलताको अभाव देखिएको उनको भनाइ थियो ।

सरकारको पछिल्लो ६ महिनाको गतिविधि ‘संक्रमणकालीन अवस्थाको निरन्तरता’ जस्तो देखिएको बताउँदै उनले यस्तो प्रवृत्तिले विकास र अग्रगमनको सपनालाई ‘मृगतृष्णा’ बनाउने खतरा रहेको बताए ।

‘हामीले परिवर्तन र सुशासन खोजेका हौं, तर अहिलेको सरकारको क्रियाकलापबाट शासन कुनै निश्चित विधि र सिद्धान्तबाट निर्देशित नभई नेतृत्वको इच्छा र लहडमा चलेको आभास हुन्छ,’ उनले भने ।

आङदेम्बेले सरकार सञ्चालनको शैलीमा संस्थागत विधि र परम्पराको उल्लंघन भइरहेको आरोपसमेत लगाए । राजकीय व्यवहारमा देखिएको असन्तुलन र अनुभवहीनताका कारण मुलुकले सही दिशा लिन नसकेको उनको जिकिर थियो ।

प्रतिपक्षका तर्फबाट सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न आग्रह गर्दै उनले धरातलीय यथार्थलाई ध्यानमा राखेर सरकारले आफ्नै कामको समीक्षा गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?