नारायणी पुलमा हलुका सवारी साधन सञ्चालन गर्न अनुमति, पुलमुनि अड्किएको क्रुजसिप निकालिँदै

लोकपथ
0
Shares

काठमाडौं । नारायणी नदीको पुलबाट आज बिहानदेखि सवारीसाधन आवतजावत हुन थालेको छ । नारायणी नदीमा आएको बाढीले त्यहाँ सञ्चालन भइराखेको राइनो क्रुजसिप बगाएर पुलमा अड्काएपछि हिजो आइतबारदेखि सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।

प्राविधिकहरूको सल्लाह अनुसार आज बिहानदेखि अत्यधिक भारबहन बाहेकका गाडीहरू चलाउन दिइएको हो ।

अहिले पुलमा अड्किएको क्रुजसिप पुललाई क्षति नहुने गरी निकाल्ने प्रयासको लागि प्राविधिक स्तरको छलफल थालिएको छ । बिहान १० बजेसम्म सुरक्षित हिसाबले निकाल्ने गरी प्राविधिक तयारी गरिएको छ ।

‘प्राविधिकहरूसँग सल्लाह गरी सबै तयारी गरेका छौं । पुलको पिल्लरलाई कम भन्दा कम क्षति हुने गरी निकाल्ने तयारी भइरहेको छ,’ चितवन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने ।

क्रुजसिप निकाल्नका लागि क्रेनसमेत प्रयोग गरिने छ । क्रेन क्रुजसिप अड्किएको ठाउँ नजिकसम्म पुग्नका लागि हिजो राति अबेरसम्म दुईवटा एक्स्काभेटरमार्फत् बाटो बनाइएको थियो ।

क्रुज सिपलाई बाहिर निकाल्ने दुई विकल्पमा तयारी भइरहेको छ । पहिलो विकल्प सिंगै क्रुजसिपलाई तानेर साइडमा ल्याउने र दोस्रो विकल्प काटेर टुक्रा पारेर निकाल्ने गरी तयारी गरिएको छ ।

क्रुजसिपको भार ६० टनको छ । त्यो भित्र पानी पनि भरिएको अवस्था छ ।

पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा रुखमा बाँधिएको राइनो क्रुज सिप नारायणी नदीको बाढीले बगाएको थियो । सो क्रुजसिप पुलको पोलमा अड्किएपछि पुलबाट गाडी आउ–जाउ गर्न रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?