काठमाडौं । सडक डिभिजन काठमाडौंले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
डिभिजनले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूलाई एपबारे जानकारी गराउँदै यसको प्रयोग र सुविधाबारे ब्रिफिङ गरेको हो ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोधकुमार देवकोटाका अनुसार एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न सकिनेछ ।
एप बिहीबार औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । एपमा समस्या रिपोर्ट गरेपछि उक्त स्थान जीआईएस म्यापिङमार्फत पहिचान हुने व्यवस्था गरिएको छ । प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर समस्याको स्थानसमेत निर्धारण गर्न सक्नेछन् ।
समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्नेछ । रिपोर्ट सफलतापूर्वक दर्ता भएपछि प्रयोगकर्ताले रिफरेन्स नम्बर प्राप्त गर्नेछन् । त्यसपछि आफ्नो रिपोर्टको अवस्था पनि एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।
देवकोटाले प्राप्त रिपोर्टलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी समाधान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइने बताए ।
उनका अनुसार काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालयले यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ समेत परिचालन गरिसकेको छ । सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले मर्मत अभियानलाई तीव्रता दिइएको उनले बताए ।
देवकोटाले विस्तारै भक्तपुर र ललितपुरलाई समेत उक्त प्रणालीमा जोड्ने तयारी भइरहेको जानकारी दिए । उनले सडकसम्बन्धी समस्या समाधानमा नागरिकको सहभागिता बढाउन एप प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।
‘सडक सुझाव’ एप प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप खोलेर होम स्क्रिनमा रहेको ‘रिपोर्ट अ प्रब्लम’मा क्लिक गरी समस्याको फोटो अपलोड गर्न सकिनेछ । फोटो खिचेको स्थान एपले स्वतः पहिचान गर्नेछ भने आवश्यक परे ठेगाना खोजेर स्थान निर्धारण गर्न सकिनेछ । त्यसपछि समस्याको प्रकार र गम्भीरताको स्तर छनोट गरी रिपोर्ट सबमिट गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया