नुवाकोट र रसुवालाई जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज जडान गरिने

लोकपथ
119
Shares

काठमाडौं । भोटेकोसी बाढीका कारण सडक सम्पर्क विच्छेद भएको रसुवालाई नुवाकोटसँग जोड्न फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म फलाँखु खोलामा बेलीब्रिज निर्माण गर्न लागिएको हो ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सम्बन्धित पालिका अध्यक्षको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि आवश्यक निर्देशन तथा सहजीकरण भइरहेको जनाएको छ ।

बेलीब्रिज निर्माण भएपछि नुवाकोट र रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक सडक मार्ग तयार हुने मन्त्रालयको भनाइ छ । उक्त मार्गबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिनेछ ।

भोटेकोसी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या हुँदै आएको छ ।

यस्तो अवस्थामा बेलीब्रिज निर्माणले रसुवासँगको सडक सम्पर्क पुनःस्थापित गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?