मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक

लोकपथ
0
Shares

वासिंगटन । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेल–इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ । अदालतले प्रशासनले सो योजनामाथिको रोक हटाउन गरेको अनुरोध अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाकमार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको छ ।

नौ सदस्यीय अदालतका छ कन्जरभेटिभ न्यायाधीशमध्ये दुई जनाले निर्णयप्रति असहमति जनाएका थिए । न्यायाधीश ब्रेट काभानगले ट्रम्पको योजना भविष्यमा कानुनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय निर्वाचन अधिकारीलाई निर्वाचनअघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको बताए ।

ट्रम्पले मार्चमा मेल–इन मतदानमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । उनले कुनै ठोस प्रमाणबिना हुलाकमार्फत हुने मतदानमा धाँधलीको जोखिम रहेको दाबी गरेका थिए । आदेशविरुद्ध डेमोक्रेटिक नेतृत्वका राज्यहरूले संविधानअनुसार निर्वाचन व्यवस्थापनमा राज्यको व्यापक अधिकार रहेको भन्दै अदालतमा चुनौती दिएका थिए ।

ट्रम्पको आदेशले योग्य मतदाताको सूची तयार गरी अमेरिकी हुलाक सेवा (युएसपिएस) लाई सूचीमा रहेका मतदातालाई मात्र मतपत्र उपलब्ध गराउन निर्देशन दिएको थियो । नर्थ क्यारोलिनासहित केही राज्यले मतदातालाई मेल–इन मतपत्र पठाउन थालिसकेकाले विभिन्न राज्यका अधिकारीले कानूनी अन्योलले निर्वाचन व्यवस्थापनमा अराजकता निम्तिन सक्ने चेतावनी दिएका थिए ।

अमेरिकन सिभिल लिबर्टिज युनियन (एसिएलयु) ले निर्णयलाई मतदान अधिकार, निर्वाचनको अखण्डता र लोकतन्त्रका लागि ठूलो विजय भनेको छ । एसिएलयुकी मतदान अधिकार परियोजनाकी निर्देशक सोफिया लिन ल्याकिनले राष्ट्रपतिले निर्वाचन सञ्चालन नगर्ने र अन्ततः नोभेम्बरको निर्वाचनको निर्णय मतदाताले गर्ने बताइन् ।

यसैबीच, अमेरिकी हुलाक सेवाका एक कर्मचारीले सेवाले प्रयोग गरिरहेको प्रणाली अव्यवस्थित र हतारमा तयार पारिएको भन्दै लाखौँ मतदाताले मतपत्र प्राप्त गर्न नसक्ने चेतावनी दिए ।

ट्रम्पले लामो समयदेखि मेल–इन मतदानको आलोचना गर्दै आए पनि यस वर्ष फ्लोरिडाको रिपब्लिकन प्राथमिक निर्वाचनमा आफैँ हुलाकमार्फत मतदान गरेका थिए । उनले मेल–इन मतदानलाई सन् २०२० को राष्ट्रपति निर्वाचन डेमोक्रेट जो बाइडेनले आफूबाट चोरी गरेको भन्ने गलत दाबीसँग जोड्दै आएका छन् ।

सर्वेक्षणहरूले रिपब्लिकन पार्टीले नोभेम्बरको निर्वाचनमा कङ्ग्रेस, विशेषगरी प्रतिनिधिसभामा रहेको आफ्नो साँघुरो बहुमत गुमाउने जोखिम देखाएका छन् । डेमोक्रेटहरू विजयी भएमा उनीहरूले ट्रम्पका नीतिगत योजना रोक्ने र उनीविरुद्ध तेस्रोपटक महाभियोग प्रक्रिया अघि बढाउन सक्ने संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?