काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्ष एकीकृत रूपमा उद्धार तथा राहत कार्यमा जुट्ने भएका छन् ।
बुधबार बिहान करिब ९ बजे भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र साहले चासो व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा विपद्को समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर उद्धार तथा राहतलाई तीव्रता दिने सहमति भएको हो ।
छलफलपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को यस घडीमा सबै राजनीतिक दल जनताको जिउधनको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म आठवटा हेलिकप्टर परिचालन गरिएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नुवाकोटको धुन्चे र त्रिशूलीमा रहेका हेलिप्याडलाई पूर्ण क्षमतामा प्रयोगमा ल्याइएको छ ।
बाढीका कारण घाइते भएकाहरूको उपचारका लागि त्रिशूलीस्थित सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको आङदेम्बेले बताए ।
उनले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु र घाइतेको तत्काल उपचार गर्नु अहिलेको मुख्य प्राथमिकता रहेको बताए ।
‘अहिलेको मुख्य प्राथमिकता प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु र घाइतेको उपचार गर्नु हो । सरकारले स्रोतसाधन परिचालन र बजेट व्यवस्थापनमा कुनै हिचकिचाहट नगरी अगाडि बढ्नुपर्छ, जसमा प्रतिपक्षको पूर्ण साथ रहनेछ,’ उनले भने ।
बैठकले बाढीबाट भएको क्षतिको यकिन विवरण तत्काल संकलन गर्ने तथा उपलब्ध सबै सरकारी संयन्त्रलाई अधिकतम रूपमा परिचालन गर्ने निर्णयसमेत गरेको छ ।
सरकारले सम्बन्धित मन्त्रालय तथा निकायलाई तत्काल क्रियाशील भएर उद्धार, उपचार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया