काठमाडौं । मुक्तिनाथ विकास बैंक र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार सिप्रदीका देशभरका शाखाबाट टाटा पिकअप तथा साना व्यावसायिक गाडी खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकबाट सवारी कर्जा लिन सक्नेछन् । सिप्रदीले ग्राहकलाई आवश्यक कागजातसहित बैंकमा सिफारिस गर्नेछ भने बैंकले ग्राहकको कर्जा क्षमता र आफ्नो नीतिअनुसार कर्जा स्वीकृत गर्नेछ ।
बैंकले पेट्रोल तथा डिजेलबाट चल्ने (आईसीई) सवारीसाधनका लागि मूल्यको ७० प्रतिशतसम्म र विद्युतीय सवारीसाधनका लागि ६० प्रतिशतसम्म कर्जा दिनेछ । व्यवसायिक संस्थाले बैंकलाई स्वीकार्य स्थिर सम्पत्ति धितो राखेमा आईसीई सवारीसाधनका लागि मूल्यको १०० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ ।
कर्जाको अवधि ग्राहकसँगको सहमतिअनुसार तय हुनेछ । यस सम्झौताले टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने व्यवसायी तथा ग्राहकलाई कर्जा लिन सहज हुने अपेक्षा गरिएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ थापालियाले हस्ताक्षर गरेका छन् । सम्झौता भदौ ८ गते काठमाडौंमा भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया