काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डिएसएस) भर्सन ४.०.१ को प्रमाणीकरण प्राप्त गरेको छ ।
कार्डसम्बन्धी डाटा सुरक्षाका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि इसेवाले यो प्रमाणीकरण पाएको हो । कम्पनीका अनुसार यसले इसेवाबाट हुने डिजिटल कारोबारमा प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत डाटाको सुरक्षा थप मजबुत बनाउनेछ ।
पीसीआई डिएसएस भुक्तानी कार्डसँग सम्बन्धित डाटा सुरक्षित राख्न बनाइएको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो । यसअन्तर्गत सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित सुरक्षा परीक्षण र सूचना सुरक्षा नीतिलगायतका व्यवस्था हुन्छन् ।
इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले पीसीआई डिएसएस प्रमाणीकरणले प्रयोगकर्ताको डाटा सुरक्षाप्रति कम्पनीको प्रतिबद्धता पुष्टि गरेको बताए । उनले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र उत्कृष्ट अभ्यासअनुसार कम्पनीका प्रणाली तथा प्रक्रियालाई निरन्तर सुधार गर्दै जाने बताए ।
इसेवाले प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारी सुरक्षित राख्न नियमित प्रणाली निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण र पहुँच नियन्त्रणलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
कम्पनीका अनुसार पीसीआई डिएसएस प्रमाणीकरण सुरक्षित र विश्वसनीय डिजिटल भुक्तानी प्रणाली निर्माण गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हो ।
इसेवा यसअघि नै आईएसओरआईईसी २७००१:२०२२ बाट पनि प्रमाणित भइसकेको छ । कम्पनीले आगामी दिनमा पनि प्रयोगकर्ताको डाटा र कारोबार सुरक्षालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्ना सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया