काठमाडौं । विश्वकै संवेदनशील जलमार्गमध्ये एक ‘स्ट्रेट अफ होर्मुज’ मा इरानको प्रभाव कमजोर बन्दै गएको देखिएको छ । जारी द्वन्द्वका बीच इरानले जलमार्गमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आए पनि पछिल्ला तथ्यांकले अधिकांश पानीजहाजले इरानको प्रभाव क्षेत्रबाट बच्न ओमानतर्फको रुट प्रयोग गर्न थालेको देखाएको छ ।
जहाजको आवागमन ट्र्याक गर्ने कम्पनी ‘केप्लर’ का अनुसार पछिल्लो दुई सातामा होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने ८० प्रतिशतभन्दा बढी पानीजहाजले ओमानको रुट प्रयोग गरेका छन् ।
यो मार्गलाई संयुक्त राष्ट्रसंघबाट अनुमति प्राप्त मार्गका रूपमा लिइन्छ भने इरानले लामो समयदेखि यसको विरोध गर्दै आएको छ । यसअघि इरानले जलमार्ग आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गर्दै उत्तरतर्फको तटबाट यात्रा गर्ने केही जहाजमाथि समेत आक्रमण गरेको थियो । तर अमेरिकी नौसेनाबाट सुरक्षा पाउने अपेक्षामा अधिकांश जहाजले इरानको धम्कीलाई बेवास्ता गर्दै ओमानतर्फको रुट रोज्न थालेका छन् ।
केप्लरका क्रूड आयल एनालाइसिस प्रमुख हुमायूँ फलकशाहीले इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण कम्तीमा आंशिक रूपमा गुमाउँदै गएको स्पष्ट संकेत देखिएको बताएका छन् ।
केही महिनाअघि इरानले यो जलमार्ग हुँदै जाने जहाजबाट मनोमानी रूपमा कर उठाउँदै आएको थियो । तर ओमान रुटको प्रयोग बढेसँगै इरानको उक्त गतिविधिमा ठूलो धक्का पुगेको छ । अमेरिका र इरानबीचको समझदारीको म्याद सकिएपछि सैद्धान्तिक रूपमा इरानले पुनः कर उठाउन सक्ने अवस्था भए पनि व्यवहारमा त्यसो गर्न असफल देखिएको छ ।
खाडी क्षेत्रका अधिकांश मुलुक इरानलाई कर तिर्न इच्छुक नरहेको र तिरेका पनि छैनन् । त्यसैले ओमान रुट उनीहरूका लागि तुलनात्मक रूपमा सुरक्षित विकल्प बनेको छ ।
यसैबीच कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स ९यूएई० लगायतका खाडी राष्ट्रहरूले ठूला तेल ट्याङ्कर चार्टर्ड गरेर होर्मुज जलडमरूमध्य पार गराउन थालेका छन् । जोखिमपूर्ण क्षेत्र पार गरेपछि गल्फ अफ ओमानमा आफ्ना ग्राहकलाई तेल हस्तान्तरण गर्ने नयाँ उपायसमेत अपनाइएको छ ।
इरानको सम्भावित आक्रमणबाट बच्न केही जहाजले लामो समयसम्म आफ्ना ट्रान्सपोन्डरसमेत बन्द गरेर यात्रा गर्ने गरेको पाइएको छ ।
अमेरिकी नौसेनाको बलियो उपस्थितिका कारण भने यस क्षेत्रबाट दैनिक लाखौँ ब्यारेल तेलको आपूर्ति भइरहेको अमेरिकाको दाबी छ । अमेरिकी ऊर्जा सचिव क्रिस राइटले गत साता होर्मुज जलडमरूमध्य हुँदै दैनिक करिब १ करोड ५० लाख ब्यारेल तेल ढुवानी भइरहेको बताएका थिए । यो युद्धअघि हुने दैनिक करिब २ करोड ब्यारेलको औसतको तुलनामा केही कम हो ।
यही अवस्थाका आधारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ‘स्ट्रेट अफ होर्मुज’ माथि पूर्ण नियन्त्रण रहेको दाबी गर्दै आएका छन् । तर विश्लेषकहरूले भने अमेरिकाको पनि यस जलमार्गमा पूर्ण नियन्त्रण नरहेको बताएका छन् ।
इरानबाट निरन्तर आक्रमणको जोखिम रहनु र युद्धअघिको तुलनामा तेलको प्रवाह अझै कम हुनु यसका कारण मानिएको छ । विज्ञहरूका अनुसार इरानको मुख्य उद्देश्य जलमार्गमाथि पूर्ण नियन्त्रण कायम गर्नु भन्दा आफ्नो प्रभाव र ‘डिटरेन्स’ कायम राख्नु रहेको देखिन्छ ।
यसैबीच इरान र ओमानले अमेरिकालाई बाहिर राखेर जलमार्गमा स्वतन्त्र आवागमन पुनर्बहाली गर्ने विषयमा छुट्टै वार्ता अघि बढाइरहेका छन् । यसले आगामी दिनमा होर्मुज जलडमरूमध्य हुँदै हुने तेलको आवागमन र जलमार्गमाथिको नियन्त्रणमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया