निर्जीवन बीमा कम्पनीको २४ अर्ब ५८ करोड खर्च, कर्मचारीमा ५ अर्ब ५५ करोड

लोकपथ
7
Shares

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा आफ्नो कुल खर्चको औसत २२.५९ प्रतिशत कर्मचारीका लागि खर्च गरेका छन् ।

१४ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल २४ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेका छन् । त्यसमध्ये ५ अर्ब ५५ करोड रुपैयाँ कर्मचारी खर्चमा गएको छ ।

कर्मचारी खर्चको हिस्सा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको रहेको छ । कम्पनीले आफ्नो कुल खर्चको ४१.३३ प्रतिशत कर्मचारीका लागि खर्च गरेको छ । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षमा ५० करोड ३७ लाख रुपैयाँ कुल खर्च गर्दा ४१.३३ प्रतिशत कर्मचारी खर्चमा छुट्याएको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले कुल खर्चको ३७.१५ प्रतिशत, सानिमा जीआईसीले २६.७३ प्रतिशत र सिद्धार्थ प्रिमियरले २५.९६ प्रतिशत कर्मचारीमा खर्च गरेका छन् । युनाइटेड अजोडले १४.१३ प्रतिशत र नेको इन्स्योरेन्सले १३.२८ प्रतिशत कर्मचारी खर्च गरेका छन् ।

कुल खर्चका आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) सबैभन्दा अगाडि रहेको छ । सलिकोले गत आर्थिक वर्षमा २ अर्ब ८० करोड रुपैयाँ कुल खर्च गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब ७७ करोड, सिद्धार्थ प्रिमियरले २ अर्ब ६४ करोड, हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड, आईजीआई प्रुडेन्सियलले २ अर्ब २३ करोड, नेको इन्स्योरेन्सले २ अर्ब १३ करोड र एनएलजी इन्स्योरेन्सले १ अर्ब ७६ करोड रुपैयाँ कुल खर्च गरेका छन् ।

कुल खर्चका आधारमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा कम खर्च गर्ने कम्पनी बनेको छ । रकमका आधारमा भने कर्मचारी खर्चमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारीका लागि ६८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले ६२ करोड ३१ लाख, सगरमाथा लुम्बिनीले ५५ करोड ३३ लाख, हिमालयन एभरेष्टले ५२ करोड ६६ लाख र नेको इन्स्योरेन्सले ४९ करोड ८० लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् ।

कम्पनीले एक आर्थिक वर्षमा गर्ने सम्पूर्ण खर्चलाई कुल खर्चका रूपमा लिइन्छ । यसमा कमिशन खर्च, सेवा शुल्क, अन्य प्रत्यक्ष खर्च, कर्मचारी खर्च, मूल्यह्रास, ह्रासकट्टी, अन्य सञ्चालन खर्च, वित्तीय लागत तथा दाबी भुक्तानीलगायतका खर्च समावेश हुन्छन् ।

त्यस्तै, कर्मचारी खर्चअन्तर्गत कर्मचारीको सेवा तथा सुविधाका लागि कम्पनीले गर्ने तलब, भत्ता, बोनस, कर्मचारी सञ्चय कोषमा योगदान, बिदा सुविधा, कर्मचारी बीमा तथा सामाजिक सुरक्षालगायतका खर्च पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?