काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ ।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै मृतकको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी गराई मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेका हुन् । आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिक गर्दै आएको जनाएको छ ।
मतदाताको मृत्यु भएपछि एकाघर परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिएर मतदाता नामावलीबाट विवरण हटाउन सक्ने व्यवस्था छ । मतदाता नामावली अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताका लागि महत्वपूर्ण रहेको आयोगले जनाएको छ ।
गत फागुन २१ गतेको निर्वाचनपछि चैत २२ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम सञ्चालन हुँदै आएको छ ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले सोही परिचयपत्रका आधारमा अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरेपछि फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ ।
यस्तै, मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र रहेका दुई वा सोभन्दा बढी मतदानस्थलमध्ये आफूलाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसार विवरण सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका कामका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था रहेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया