काठमाडौं । कुमारी बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ सुविधा सञ्चालनमा ल्याएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता बढाउने लक्ष्य राखेको छ ।
नयाँ सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् ।
ग्राहकले मोबाइल बैंकिङ एपको ‘आईआरडी प्रोत्साहन कार्यक्रम’ मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, विवरण तथा पुरस्कारको अवस्था हेर्न सक्ने बैंकले जनाएको छ ।
आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकलाई कर कट्टीपश्चात १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
बैंकले ग्राहकलाई व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्न, प्यान वा भ्याट बिल लिन तथा बिल सुरक्षित राख्न आग्रह गरेको छ । साथै, मोबाइल बैंकिङ एपमार्फत नियमित रूपमा आफ्नो कारोबारको योग्यता जाँच गर्न पनि अनुरोध गरेको छ ।
कुमारी बैंकका अनुसार यस अभियानले डिजिटल कारोबार विस्तारसँगै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शिता प्रवर्द्धनमा सहयोग पुर्याउनेछ ।
२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया