आजदेखि यी ३ प्रदेशका विभिन्न स्थानमा एनसेलको ‘थ्रीजी सेवा’ बन्द हुने

लोकपथ
21
Shares

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तार गर्ने क्रममा थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले आजदेखि (भदौ १) गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।

एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनीका बर्दिया र पाल्पा तथा सुदूरपश्चिमको कैलालीका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ ।

थ्रीजी सेवाका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजीमा प्रयोग गर्ने उद्देश्यले सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । यसबाट फोरजी नेटवर्कलाई थप बलियो बनाउन सहयोग पुग्ने एनसेलको भनाइ छ ।

आजदेखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चे तथा लमजुङका मस्र्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ ।

त्यस्तै, बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायतका स्थानमा पनि थ्रीजी बन्द हुनेछ। कैलालीका टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा समेत थ्रीजी सेवा बन्द गरिनेछ ।

एनसेलले थ्रीजी सेवा बन्द हुने क्षेत्रका ग्राहकलाई फोरजीमा अपग्रेड हुन आग्रह गरेको छ । फोरजी चलाउन फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिमकार्ड वा ई–सिम आवश्यक पर्नेछ ।

कम्पनीले फोरजी प्रयोगकर्तालाई VoLTE सेवा प्रयोग गर्न मोबाइलको सेटिङमा VoLTE विकल्प अन गर्न आग्रह गरेको छ । ग्राहकले ८१२३८ ११३ मा डायल गरेर पनि VoLTE सेवा सक्रिय गर्न सक्नेछन् ।

एनसेलका अनुसार VoLTE प्रविधिबाट उच्च गुणस्तरको आवाजमा फोन गर्न सकिनेछ भने फोन सम्पर्क पनि छिटो स्थापित हुनेछ। फोनमा कुरा गरिरहँदा फोरजी डेटा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

एनसेलले नयाँ प्रविधिमा जाने र सेवा गुणस्तर सुधार गर्ने योजनाअनुसार थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गरिरहेको जनाएको छ । कम्पनीका अनुसार फोरजी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ ।

यसअघि पनि एनसेलले माघ र असारमा विभिन्न जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिसकेको थियो । कम्पनीले २०२७ को पहिलो त्रैमासिकसम्म देशभर थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?