आइएमई लाइफको बीमाशुल्क ३६.८६ प्रतिशतले बढ्यो, नाफामा भने झिनो सुधार

लोकपथ
21
Shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ७३ करोड ६९ लाख ४७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । शनिबार सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.८६ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ६५ करोड ५२ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ३५.८२ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ थियो ।

यद्यपि, बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफामा भने सामान्य मात्रै सुधार देखिएको छ । असार मसान्तसम्म आइएमई लाइफले ५८ करोड ४४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ५८ करोड ३१ लाख १ हजार रुपैयाँको तुलनामा ०.२३ प्रतिशतले मात्रै बढी हो ।

कम्पनीको जीवन बीमा कोष भने उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा जीवन बीमा कोष ३९.४० प्रतिशतले वृद्धि भएर १८ अर्ब २७ करोड ४२ लाख २८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कोष १३ अर्ब १० करोड ९० लाख ६५ हजार रुपैयाँ थियो ।

कम्पनीको जगेडा तथा अन्य इक्विटीअन्तर्गत शेयर प्रिमियममा ५२ करोड ३८ लाख १६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा ३२ करोड २१ लाख २८ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ७१ करोड ३३ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ४६ लाख ९८ हजार रुपैयाँ कायम रहेको वित्तीय विवरणमा उल्लेख छ ।

पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सकारात्मक देखिएको छ । समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत ईपीएस ११.६८ रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.६६ रुपैयाँ र मूल्य-आम्दानी अनुपात (पीई रेसियो) ३४.९२ गुणा रहेको वित्तीय विवरणले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?