नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै

लोकपथ
35
Shares

काठमाडौं । नेपाल टेलिकमले GSM पोस्टपेड मोबाइलका ग्राहकका लागि सिम नामसारी प्रक्रिया थप सहज बनाएको छ । अब ग्राहकले नामसारीका लागि आवश्यक अधिकांश विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन् ।

कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमा गएर मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ । त्यसपछि प्राप्त हुने OTP मार्फत लगइन गरी हालका ग्राहक र नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्न सकिनेछ ।

नामसारीका लागि ग्राहकले पछिल्लो एक महिनामा कल गरेका पाँचवटा मोबाइल नम्बरसमेत उपलब्ध गराउनुपर्नेछ । सबै विवरण अनलाइनबाट भरेपछि भने अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

नामसारी दस्तुर बुझाउनुका साथै सक्कल नागरिकता प्रस्तुत गरी ग्राहक स्वयं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । यस व्यवस्थाले कार्यालयमा लामो समय खर्च गर्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गराउन सक्ने भएकाले नामसारी प्रक्रिया अझ सहज हुने टेलिकमको भनाइ छ ।

हाल यो अनलाइन नामसारी सुविधा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध छ । कर्पोरेट ग्राहकले भने सिम नामसारीका लागि सम्बन्धित नेपाल टेलिकम कार्यालयमै उपस्थित हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?