काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले काठमाडौंमा ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई)’ सम्मेलन आयोजना हुने भएको छ ।
‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनमा नेपालका सातवटै प्रदेशबाट १ सय ८० भन्दा बढी युवा सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलन साउन २९ गतेदेखि तीन दिनसम्म सञ्चालन हुनेछ ।
आयोजक नेप्लिज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) की राष्ट्रिय संयोजक आकृति डोटेलका अनुसार सम्मेलनमा युवाले जलवायु परिवर्तनका कारण आफूले भोगेका समस्या, स्थानीय तहमा भइरहेका अभ्यास तथा सिकाइ प्रस्तुत गर्नेछन् । ती अनुभव र सुझावलाई नीतिगत प्रक्रियामा जोड्ने तयारी गरिएको छ ।
सम्मेलनबाट सहभागी युवाले जलवायु परिवर्तनका चुनौतीबारे व्यवहारिक तथा नीतिगत सुझावसहितको ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तनसम्बन्धी वक्तव्य’ तयार गर्नेछन् । उक्त वक्तव्यलाई सम्बन्धित मन्त्रालयमार्फत राष्ट्रिय नीतिमा समेट्न पहल गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी युवाका स्थानीय तथा राष्ट्रिय मुद्दालाई क्षेत्रीय र अन्तर्राष्ट्रिय जलवायु प्रक्रियासम्म पुर्याइनेछ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) को आधिकारिक बालबालिका तथा युवा समूह ‘योङगो’ को प्रक्रियामार्फत अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा समेत युवाका मुद्दा प्रस्तुत गरिने डोटेलले बताइन् ।
उनका अनुसार सम्मेलनमा कम्तीमा ५० प्रतिशत महिला तथा लैङ्गिक विविधता भएका व्यक्तिको सहभागिता सुनिश्चित गरिनेछ । स्थानीय तहमा जलवायु क्षेत्रमा काम गरिरहेका युवालाई सहभागी गराएर उनीहरूका अनुभव, समस्या र समुदायस्तरका कथालाई नीतिगत छलफलमा समेटिनेछ ।
‘युवाको सहभागिता कार्यक्रममा आउने, सुन्ने र जाने मात्रै होइन । उनीहरूको आवाज नीति निर्माण र कार्यान्वयनसँग जोडिनुपर्छ,’ डोटेलले भनिन् ।
सम्मेलनमा जलवायु परिवर्तन र हानि तथा क्षति, जलवायु वित्त, न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल तथा जीविकोपार्जन, जलवायु उत्थानशील शिक्षा, कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणलगायत विषयमा छलफल हुनेछ ।
आयोजक संस्था युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपालकी दिक्षा सुवेदीका अनुसार सम्मेलनअघि नै युवाका लागि विषयगत नौ वटा अनलाइन सत्र सञ्चालन गरिएको थियो । ती सत्रमा विज्ञ तथा सरोकारवालासँग छलफल गराएर युवालाई सम्मेलनका लागि तयार पारिएको हो ।
सम्मेलनमा विषयगत छलफलसँगै ‘मोडल कप’ मार्फत अन्तर्राष्ट्रिय जलवायु वार्ताको अभ्याससमेत गराइनेछ । सम्मेलनमा सहभागी हुन करिब एक हजार युवाले आवेदन दिएका थिए । अनलाइन तयारीका कार्यक्रममा कम्तीमा ८० प्रतिशत सहभागिता जनाएका तथा जलवायु परिवर्तनका क्षेत्रमा सक्रिय युवालाई मुख्य सम्मेलनका लागि छनोट गरिएको सुवेदीले बताइन् ।
सम्मेलनमा सातवटै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । काठमाडौंमा अध्ययन वा रोजगारी गरिरहेका भए पनि अन्य प्रदेशका मूल बासिन्दालाई सम्बन्धित प्रदेशको प्रतिनिधिका रूपमा सहभागी गराइनेछ ।
चिकित्सा, इन्जिनियरिङ, सामाजिक विज्ञान, मानविकी, नर्सिङ, सार्वजनिक स्वास्थ्यलगायत विभिन्न क्षेत्रका युवालाई सम्मेलनमा समेटिएको छ । आठ वर्षभन्दा माथिका बालबालिकालाई समेत सहभागी गराई प्रारम्भिक चरणमै जलवायु नेतृत्व, नीति तथा निर्णय प्रक्रियाबारे बुझाउने उद्देश्य रहेको सुवेदीले बताइन् ।
सम्मेलनबाट तयार हुने राष्ट्रिय युवा वक्तव्यलाई क्षेत्रीय युवा सम्मेलन तथा विश्वव्यापी युवा जलवायु प्रक्रियामार्फत संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको प्रक्रियासम्म पुर्याइने आयोजकले जनाएको छ । यसबाट नेपालका युवाका अनुभव र सिकाइलाई अन्तर्राष्ट्रिय तहमा आदानप्रदान गर्ने तथा अन्य देशका राम्रा अभ्यासबाट सिक्ने अवसरसमेत सिर्जना हुने आयोजकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया