काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड चेरीले नेपाली बजारमा आफ्नो नयाँ मोडल चेरी क्यू सार्वजनिक गरेको छ ।
नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत चेरी क्यूलाई सार्वजनिक गरेको हो ।
क्रसओभर डिजाइनमा तयार गरिएको चेरी क्यू प्रिमियम ह्याचब्याक सेग्मेन्टलाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध हुनेछन् ।
कम्पनीले कम्फर्ट भेरियन्टको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । एक्स्पो विशेष योजनाअन्तर्गत भने कम्फर्ट भेरियन्ट ३० लाख ९९ हजार तथा प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।
चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ । पूर्ण चार्जमा यसले ४०० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी कम्पनीको छ ।
ईभीको चार्जिङ क्षमतामा पनि विशेष ध्यान दिइएको छ । चेरी क्यूले अधिकतम ८५ किलोवाटको डीसी फास्ट चार्जिङ स्वीकार गर्छ । यसबाट ब्याट्रीको चार्ज स्तर ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउन करिब १६ मिनेट लाग्ने कम्पनीले जनाएको छ । गाडीमा भीटूएल प्रविधि पनि समावेश छ, जसको प्रयोगबाट आवश्यक पर्दा बाहिरी विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ ।
गाडीमा १७५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ । सुरक्षातर्फ ५४० डिग्री सराउन्ड क्यामेरा र २० भन्दा बढी फिचरसहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । यात्रु तथा चालकको सुविधाका लागि १५।६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि राखिएको छ ।
उन्नत विद्युतीय आर्किटेक्चरमा निर्माण गरिएको चेरी क्यू रियर–ह्विल ड्राइभमा आधारित छ । बाहिरी डिजाइनसँगै यसको केबिनलाई पनि फराकिलो र उपयोगी बनाइएको कम्पनीको भनाइ छ ।
चेरी क्यूमा ३७५ लिटर क्षमताको बुट स्पेस उपलब्ध छ। पछाडिका सिटहरू फोल्ड गरेपछि सामान राख्ने क्षमता १,४५० लिटरसम्म बढाउन सकिन्छ ।
आधुनिक डिजाइन, पर्याप्त रेन्ज, छिटो चार्जिङ तथा विभिन्न प्रविधियुक्त फिचरका कारण चेरी क्यू नेपाली ईभी बजारमा नयाँ विकल्पका रूपमा प्रस्तुत भएको छ । कम्पनीले यसलाई नेपाली ग्राहकका लागि प्रविधि र व्यावहारिकताको संयोजन भएको विद्युतीय गाडीका रूपमा अघि सारेको छ ।
अन्तर्राष्ट्रिय डिजाइनको क्षेत्रमा समेत चेरी क्यूले पहिचान बनाइसकेको कम्पनीको दाबी छ। मोडलले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ प्राप्त गरिसकेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया