काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न भएको छ ।
गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित सम्मेलन सम्पन्न गरिएको हो ।
सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी योजना, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती र कर्मचारीको क्षमता विकासका विषयमा छलफल तथा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन दीप प्रज्वलन गरेर गरिएको थियो । कार्यक्रममा अध्यक्ष सिंहले जीवन बीमा व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएकाले बजारको मागअनुसार आफूलाई तयार गर्दै व्यवसाय विस्तार गर्नुपर्ने बताइन् ।
उनले कर्मचारीको क्षमता विकासका लागि कम्पनीले निरन्तर तालिम तथा प्रशिक्षणमा लगानी गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई प्राथमिकता दिने जानकारी दिइन् । उनले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत जीवन बीमा क्षेत्रमा डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउन सकिने बताइन् ।
सम्मेलनका क्रममा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने पाँच शाखा कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि पुरस्कृत गरिएको थियो ।
त्यस्तै, चेयरपर्सन क्लब र सीईओ क्लबमा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्य बढाउने उद्देश्यले सम्मेलनमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथै ब्याडमिन्टन, टेबल टेनिस र म्युजिकल चेयरलगायत प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुरस्कार प्रदान गरेका थिए ।
कम्पनीका अनुसार सम्मेलनले आगामी व्यावसायिक रणनीति बनाउन तथा शाखा र केन्द्रीय कार्यालयका कर्मचारीबीच समन्वय, क्षमता र संस्थाप्रतिको प्रतिबद्धता थप मजबुत बनाउन सहयोग पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया