साउनको अन्तिम सोमबार : पशुपतिमा बागमतीको जल लिएर दर्शनमा भक्तजन [तस्बिरहरु]

लोकपथ
0
Shares

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको पूजा, जलाभिषेक र व्रत बस्ने धार्मिक परम्पराअनुसार देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन् ।

साउन महिना भगवान शिवको प्रिय महिना मानिन्छ। विशेषगरी साउनका सोमबार व्रत बसी भगवान शिवको पूजा, ध्यान तथा जलाभिषेक गर्नाले पारिवारिक सुख, शान्ति, निरोगिता र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

आज साउनको अन्तिम सोमबार भएकाले महिनाभरि सोमबारे व्रत बसेका श्रद्धालुहरूले विशेष रूपमा व्रत उद्यापन तथा पूजाआजा गरिरहेका छन् । पशुपति परिसरमा ‘बोलबम’ र ‘जय शिव’को जयघोष गुञ्जिएको छ ।

सुन्दरीजलबाट पैदल यात्रा गरी पवित्र बागमतीको जल ल्याएर पशुपतिनाथको ज्योतिर्लिङ्गमा अर्पण गर्ने बोलबमका गेरुवा वस्त्रधारी टोली भक्तजनको मुख्य आकर्षण बनेका छन् । युवायुवतीहरू हातमा रुद्राक्ष, बेलपत्र तथा तामाको कलश लिएर शिवभक्तिमा रमाइरहेका देखिन्छन् ।

पशुपतिनाथ परिसरमा परिवार तथा साथीभाइसँग तस्बिर र सेल्फी खिच्नेहरूको पनि बाक्लो उपस्थिति छ । साउनको सोमबार पशुपतिनाथमा बेलपत्र र बागमतीको जल अर्पण गरेमा पाप नष्ट हुने धार्मिक विश्वासका कारण पनि यस दिन विशेष भीड लाग्ने गरेको छ ।

भक्तजनको सहज दर्शन तथा सुरक्षाका लागि पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आवश्यक व्यवस्थापन गरेका छन्। दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीको मेडिकल टोलीले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । शिविरमा ज्येष्ठ नागरिक तथा बिरामी श्रद्धालुको रक्तचाप जाँच गर्नुका साथै प्राथमिक उपचारको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रको बाहिरी परिसरमा असहाय तथा विपन्नलाई भोजन गराउने र दानपुण्य गर्ने क्रमसमेत जारी छ । मूल प्राङ्गण तथा बागमती किनारमा पण्डित–पुजारीबाट संकल्प गराउने, रुद्री तथा चण्डी पाठ गर्ने र टीका–प्रसाद ग्रहण गर्ने भक्तजनहरूको भीड लागेको छ ।

कपुर र धूपको सुगन्ध, घिउका दियाको उज्यालो तथा ‘ॐ नमः शिवाय’को गुञ्जनले पशुपतिनाथ क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक वातावरणले भरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?