रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ ।

सहमहामन्त्री असिम शाहले आइतबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।

यस कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनेछन् ।

यस कार्यक्रमले भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो कार्यक्रम नागरिक संवाद र नेतृत्व संवाद गरी दुई चरणमा सञ्चालन हुनेछ ।

नागरिक संवाद साँझ ५ देखि ६ बजेसम्म हुनेछ । यसमा मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्ने छन् ।

नेतृत्व संवाद साँझ ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ ।

पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयहरूमा यस चरणमा सघन छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?