भनेअनुसार काम नभएको भन्दै रास्वपा नेताले नै निकाले उद्योगमन्त्री गौरी यादव हराएको सूचना

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय नेताले उद्योगमन्त्री गौरीकुमारी यादव हराएको भन्दै सूचना निकालेका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेर मन्त्री भएका गौरीकुमारी यादव हराएको भनेर उनकै निर्वाचन क्षेत्रका स्थानीय अनुनित सिंहले सूचना निकालेका हुन् ।

रास्वपाका स्थानीय नेता अनुनितले निर्वाचनमा उनलाई जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए । महोत्तरी–४ मा रास्वपाकी गौरीकुमारी जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै विजयी भएकी थिइन् । गौरीकुमारी ३० हजार १३२ मत पाएर विजयी हुँदा जसपा नेपालका यादवले ८ हजार ७४२ मतमा चित्त बुझाउनु परेको थियो ।

यसरी भारी मतान्तरले विजयी भएर मन्त्री हुँदा पनि निर्वाचनपछि आफूहरुले सोचेअनुसारको काम नभएको भन्दै उनले आक्रोश पोखेका हुन् ।

माननीय उद्योगमन्त्री गौरी यादवज्यू भन्दै सम्बोधन गरेका अनुनितले आफ्नो स्ट्याटसमा भनेका छन्, ‘हामी महोत्तरी जिल्लावासी हौँ । चुनाव जितेपछि व्यक्तिगत कामले जिल्ला आउनुभयो, तर हामीले आशा गरेको थियौँ—जनताको घरदैलोमा पुगेर समस्या र गुनासो सुन्नुहुन्छ, तर त्यसपछि जिल्लामा एकपटक पनि आउनुभएको महसुस गर्न पाएनौँ । मन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्रमा के–के काम गर्नुभयो, त्यो पनि जनताले महसुस गर्न पाएका छैनन्, सिंहदरबार छिरेपछि जनताको झुपडीको घर बिर्सिनुभयो कि ? फोन उठ्दैन, माननीयज्यू यदि कसैले हराउनुभएको मन्त्रीज्यूलाई भेट्नुहुन्छ भने कृपया उहाँलाई भन्नुहोला आफ्नो निर्वाचन क्षेत्रमा आएर जनताको समस्या सुन्नुहोस् र समाधान गर्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?