जंगलमा ‘बाटो भुलेको’ भनिएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंह मृत भेटिए

लोकपथ
1.5k
Shares

कपिलवस्तु । शुक्रबारदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । 

शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराइरहेका उनलाई आज गोरुसिंगे जंगलमा मृत फेला पारिएको हो । जंगलको बीचमा उनी चढ्ने मोटरसाइकल भेटिएको भएपनि उनको अवस्था भने अज्ञात थियो ।

कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार गोरुसिंगे जंगलमा भेटिएको बताए । 

खोजी अभियानमा जुटेको प्रहरी टोलीले उनको ‘डेथ बडी’ फेला पारेको जानकारी प्राप्त भएको छ, थप विवरण जुटाउँदै छौं,’ एसपी भट्टले भने ।

६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर फोन गरेको जनाइएको छ । त्यसपछि उनका आफन्तसहितको टोली खोजीमा निस्किँदा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।

उनको पुर्ख्यौली घर विराटनगर भए पनि उनी लामो समयदेखि परिवारसहित कपिलवस्तु नगरपालिका–३ मा बस्दै आएका थिए । उनी कपिलवस्तु नगरपालिकाको मेयरमा अघिल्लो कार्यकाल कांग्रेसबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?