काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘ बालेन’ले लामो समयदेखि घाटामा रहेका तथा बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्क इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताएका छन् ।
प्रधानमन्त्रीका अनुसार नयाँ सरकार गठन भएयता सरकारी उद्योग तथा संस्थानलाई पुनर्जीवित बनाउन विभिन्न पहलकदमी अघि बढाइएको छ । त्यसबाट नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा सुधारका संकेत देखिएको उनले बताएका छन् ।
नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको प्रधानमन्त्रीको विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ ।
बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको छ । तान (लुम )मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत भइरहेको जनाइएको छ । परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने तयारी छ ।
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको प्रधानमन्त्री शाहले बताएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो । उक्त अवधिमा निगमको सीट उपयोगिता ८६ प्रतिशत पुगेको छ ।
यसैगरी, निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरेको जनाएको छ ।
दुग्ध विकास संस्थान (डीडीसी) मा किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको छ। किसानको भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको प्रधानमन्त्रीको दाबी छ । किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ ।
सुधारका प्रयासपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको जनाइएको छ । कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गर्दा वार्षिक करिब ३ करोड रुपैयाँ बचत भएको पनि प्रधानमन्त्रीको विवरणमा उल्लेख छ ।
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको छ । गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो ।
हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको र चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको प्रधानमन्त्रीले बताएका छन् । निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा समेत वैद्यखाना अघि बढिरहेको जनाइएको छ ।
प्रधानमन्त्री शाहले इमानदारिता र देशप्रतिको समर्पण कायम रहेमा रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानमा पनि नयाँ जीवन भर्न सकिने विश्वास व्यक्त गरेका छन्। उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने अभियानमा सबैको रचनात्मक साथ, सहयोग र विश्वास आवश्यक रहेको उनले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया