काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ट्रमा सेन्टर अन्यत्र सार्ने तयारी भइरहेको भन्दै आपत्ति जनाएपछि सभामुख अर्यालले सरकारलाई तत्काल वास्तविकता स्पष्ट पार्न निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले, ‘आजै माननीय चन्द्रमोहन यादवले उठाउनुभएको विषयमा वास्तविकता के हो ? यसबारे सदनलाई जानकारी गराउन म सरकारलाई निर्देशन दिन्छु ।’
बैठकमा सांसद यादवले ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मन्त्रिपरिषद्को निर्णय भइसके पनि लामो समयदेखि काम अघि नबढेको बताए । साथै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर अन्यत्र निर्माण हुने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाए ।
उनले ढल्केवर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको प्रमुख व्यापारिक तथा यातायात केन्द्र भएकाले यहाँ दैनिक सवारीसाधनको अत्यधिक चाप रहने बताए । यसका कारण सडक दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गर्दै ट्रमा सेन्टर निर्माण अपरिहार्य भएको उनको भनाइ थियो ।
सांसद यादवले तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न र विकास आयोजनाहरू अलपत्र नपार्न सरकारलाई आग्रह गर्दै निर्णय उल्ट्याउने काम नगर्न चेतावनीसमेत दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया