चितवन । झण्डै सात वर्षसम्म निर्माणका कारण यात्रुलाई सास्ती दिएको नारायणगढ–बुटवल सडकखण्ड अहिले भने सहज बन्दै गएको छ । सडक विस्तारको अधिकांश काम सम्पन्न भएपछि नारायणगढदेखि बुटवलसम्मको ११३.३५ किलोमिटर दूरी सामान्यतया दुई घण्टामै पार गर्न सकिने अवस्था बनेको छ । केही निजी सवारी चालकले भने एक घण्टा ३० मिनेटमै यात्रा पूरा गरेको अनुभव सुनाएका छन् ।
निर्माण अवधिमा विशेषगरी दाउन्ने क्षेत्रमा हुने लामो जामका कारण यात्रुले घण्टौँ सडकमै बिताउनुपर्ने अवस्था थियो । वर्षायाम र चाडपर्वमा त कतिपय यात्रुले रातभर सडकमै बस्नुपरेको र घरसमेत समयमै पुग्न नसकेको अनुभव गरेका थिए ।
ग्यास उद्योगी विमल कालाखेतीले गत साता बुटवलबाट नारायणगढसम्मको यात्रा एक घण्टा ३० मिनेटमा पूरा गरेको बताए । उनका अनुसार अहिले सडकमा कुनै अवरोध नभई यात्रा सहज बनेको छ ।
रुपन्देहीको तिलोत्तमा–४ का उद्योगी प्रकाश आचार्यले परिवारसहित निजी सवारीमा नारायणगढबाट घर पुग्न एक घण्टा ५० मिनेट लागेको बताए। विगतमा दाउन्नेमा लामो जामका कारण साँझ ६ बजे नारायणगढबाट हिँडेर भोलिपल्ट बिहान १० बजे मात्र घर पुगेको अनुभव स्मरण गर्दै उनले अहिलेको सडकले विगतका सबै दुःख बिर्साएको प्रतिक्रिया दिए ।
सञ्चारकर्मी प्रकाश ज्ञवालीले पनि बुधबार बुटवलबाट नारायणगढसम्म दुई घण्टामै आइपुगेको बताए । उनका अनुसार निर्माणका क्रममा यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको अनुभव समेत छ ।
भरतपुरका एक कर्मचारीले निजी गाडीमा नारायणगढबाट बुटवलको चौराहा चोकसम्म एक घण्टा ४४ मिनेटमा पुगेको बताए । बाटोमा दुई स्थानमा रोकिनुपर्दा पनि यात्रा छोटो समयमै सम्पन्न भएको उनको भनाइ छ ।
चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालका अनुसार पहिले रातभर जाममा बस्नुपर्ने अवस्था अहिले हटेको छ । यात्रु चढाउँदै–ओराल्दै जाँदा पनि बसले तीन घण्टाभित्र यात्रा पूरा गर्न थालेका छन्। सडक सुधारसँगै सवारी साधनको टुटफुट र मर्मत खर्चसमेत घटेको उनले बताए ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालका अनुसार आयोजनाको करिब ९२ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले सडक सुरक्षासम्बन्धी संरचना र केही स्थानमा नाली जोड्ने काम मात्र बाँकी रहेको उनले जानकारी दिए ।
करीब १६ अर्ब ९९ करोड रुपैयाँ लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ। चिनियाँ सरकारी कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले २०७५ चैत ८ गतेदेखि निर्माण सुरु गरेको आयोजना प्रारम्भिक ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि पटक–पटक समय थप गरिएको थियो ।
सडक विस्तारअन्तर्गत नारायणगढ–बुटवल सडकलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गरिएको छ भने बजार क्षेत्रका २८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको यस सडकले पूर्व–पश्चिम यात्रालाई थप सहज, सुरक्षित र छिटो बनाएको यात्रुहरूको अनुभव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया