हेलो सरकारलाई एकीकृत सेवा व्यवस्थापन प्रणाली बनाइँदै, गुनासो ३२१ प्रतिशतले बढ्यो

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासोको सुनुवाइलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ ।

हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाका अनुसार यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको छ । नयाँ प्रणालीमार्फत फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गरिनेछ ।

प्रस्तावित व्यवस्थाअनुसार सेवाग्राहीले सम्बन्धित कार्यालयमा हेलो सरकार प्रणालीमार्फत सिधै गुनासो दर्ता गर्न र कारबाहीको अवस्था अनलाइनमार्फत हेर्न सक्नेछन् । सम्बन्धित कार्यालयमा प्रत्यक्ष गुनासो दर्ता गर्न नचाहेमा हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा गुनासो पठाइने व्यवस्था पनि गरिनेछ। गुनासोको प्रगति अनुगमन र सेवाग्राहीलाई जानकारी दिने प्रक्रिया एउटै प्लेटफर्मबाट सञ्चालन हुनेछ ।

सरकारी कल सेन्टरहरूलाई पनि अन्तरआबद्ध गर्ने अवधारणा अघि सारिएको छ । निःशुल्क टेलिफोन नम्बर ११११ मा आएको गुनासोलाई विषयअनुसार सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाइनेछ। यदि सम्बन्धित निकायबाट सेवा उपलब्ध नभएमा उक्त कल पुनः हेलो सरकारमै फर्किने व्यवस्था प्रस्ताव गरिएको छ ।

नयाँ प्रणालीमा सेवाग्राहीले यसअघि दर्ता गरेका गुनासो, त्यसको अवस्था र समाधानको विवरण पनि हेर्न सक्नेछन् । एउटै व्यक्तिले एउटै विषयमा पटक–पटक गुनासो दर्ता गरेमा त्यसलाई एउटै गुनासोका रूपमा व्यवस्थापन गरिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

कार्यालयले हालै ‘नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन दिग्दर्शन’ तयार गरेको छ। यसले सङ्घ, प्रदेश र स्थानीय तहसम्म गुनासो व्यवस्थापन प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राखेको छ । दिग्दर्शनमा अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने समयसीमा प्रस्ताव गरिएको छ ।

गुनासो समाधान भएपछि प्रणालीमार्फत सेवाग्राहीलाई जानकारी गराइने र समाधानप्रति सेवाग्राहीको पृष्ठपोषण प्राप्त गरेपछि मात्र गुनासो फर्छ्योट भएको मानिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

एक वर्षमै ३२१ प्रतिशतले बढे गुनासा

हेलो सरकारमा आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशत बढी गुनासा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा गत आवमा यो संख्या बढेर ६९ हजार ७२४ पुगेको छ । अर्थात् एक वर्षमै ५३ हजार १५६ गुनासा थपिएका छन् ।

उपसचिव सापकोटाले वर्तमान सरकारप्रति नागरिकको विश्वास र अपेक्षा बढेकै कारण गुनासोको संख्या उल्लेख्य रूपमा वृद्धि भएको बताए ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांकअनुसार हेलो सरकारमा एक लाख २४ हजार ५८१ गुनासा दर्ता भएका छन् । तीमध्ये ६९ हजार ७२४ गुनासा आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्राप्त भएका हुन्, जुन पाँच वर्षको कुल गुनासाको करिब ५६ प्रतिशत हो ।

तीन महिनामै ५० हजारभन्दा बढी गुनासा

पछिल्ला करिब तीन महिनामा हेलो सरकारमा ५० हजार ७२१ गुनासा दर्ता भएका छन् । तीमध्ये ३९ हजार १७७ गुनासाको समाधान गरिएको कार्यालयले जनाएको छ ।

तीन महिनाको अवधिमा १८ हजार ५४२ गुनासा फर्छ्योट भएका, ५४७ गुनासा नहेरिएका, १ हजार ६४२ हेरिएका, १ हजार ३२७ प्रक्रियामा रहेका, ६ हजार ५६ तोकिए पनि नहेरिएका तथा २ हजार ४४६ गुनासा अपूर्ण, असम्बन्धित वा नतोकिएका अवस्थामा रहेका छन् ।

यस्तै, हेलो सरकारको टोल–फ्री सेवा ११११ मार्फत ५० हजार १९६ फोन कल प्राप्त भएकामा ४० हजार १६ कल सम्बोधन गरिएको छ ।

चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म मात्रै ९ हजार ६१० गुनासा दर्ता भएकामध्ये ६ हजार ६०१ गुनासा फर्छ्योट भइसकेका छन् । सामाजिक सञ्जाल, भाइबर, ह्वाट्सएप र इमेलमार्फत प्राप्त गुनासोको विवरण भने यस तथ्यांकमा समावेश नगरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?