काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।
मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा सञ्चय नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायसँग समन्वय गरी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । साथै, नेपाल आयल निगम र ग्यास उद्योगीसँगको सहकार्यमा ग्यासको आयात, भण्डारण र वितरणलाई पारदर्शी तथा व्यवस्थित बनाउने सुधारका काम पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन ग्यास व्यवसायीलाई निर्देशन दिएको छ ।
साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत काम गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया