काठमाडौं । टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पन्च ईभीलाई नयाँ अवतारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
फेसलिफ्ट अपडेटसँगै यसमा आकर्षक डिजाइन, ठूलो ब्याट्री, फास्ट चार्जिङ र अत्याधुनिक प्रविधि थपिएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।
आउनुहोस्, नयाँ पन्च ईभीमा के–के परिवर्तन भएका छन् भन्ने बारेमा जानौँ ।
सबैभन्दा पहिले कुरा गरौँ यसको डिजाइनको । नयाँ पन्च ईभीको अगाडिको भागमा नयाँ डिजाइनको बम्पर प्रयोग गरिएको छ भने यसको क्लोज्ड फ्रन्ट ग्रिलको पहिचान भने यथावत् राखिएको छ । यसअघि हेडलाइटलाई जोड्ने कालो ट्रिम हटाइएकाले यसको अगाडिको लुक अझ सफा, आधुनिक र प्रिमियम देखिन्छ ।
वाई आकारको एलईडी डे–टाइम रनिङ लाइट र बीचभागमा रहेको चार्जिङ पोर्ट भने पहिलेकै स्थानमा राखिएको छ । पछाडितर्फ भने ठूलो परिवर्तन गरिएको छ । अब एक छेउदेखि अर्को छेउसम्म फैलिएको कनेक्टेड एलईडी टेललाइटले नयाँ पन्च ईभीलाई झन् आकर्षक र आधुनिक बनाएको छ ।

फेसलिफ्टसँगै आएको सबैभन्दा ठूलो परिवर्तन यसको ब्याट्रीमा देखिन्छ । अब नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ ।
यसअघिको मोडलमा २५ किलोवाट आवर र ३५ किलोवाट आवर ब्याट्री उपलब्ध थियो । अर्थात् दुवै विकल्पमा ५ किलोवाट आवर क्षमता थपिएको छ, जसले एक पटकको चार्जमा अझ बढी दूरी तय गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
चार्जिङ प्रविधिमा पनि उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ पन्च ईभीले ६५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले छोटो समयमै ब्याट्री चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यसले विशेषगरी लामो दूरी यात्रा गर्ने प्रयोगकर्तालाई थप सहज बनाउने विश्वास गरिएको छ ।
भारतीय बजारमा ३० किलोवाट आवर संस्करण स्मार्ट र स्मार्ट प्लस भेरियन्टमा उपलब्ध छ । त्यसैगरी ४० किलोवाट आवर संस्करण स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस एस गरी चार भेरियन्टमा बिक्री भइरहेको छ ।

नेपालमा भने कुन–कुन भेरियन्ट उपलब्ध हुनेछन् भन्नेबारे सिप्रदी ट्रेडिङले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
केबिनतर्फ पनि नयाँ पन्च ईभी पहिलेभन्दा अझ प्रिमियम बनेको छ । ड्यासबोर्डको आधारभूत डिजाइन कायम राख्दै नयाँ ट्रिम फिनिस र डुअल–टोन कलर स्किम प्रयोग गरिएको छ ।
यसमा १६ इन्चका एरो–अप्टिमाइज्ड अलोय ह्वील, १० दशमलव २५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सोही आकारको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध हुनेछ ।

भेरियन्टअनुसार वायरलेस मोबाइल चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरा जस्ता आधुनिक सुविधा पनि समावेश गरिएका छन् ।
सुरक्षाको पक्षमा पनि नयाँ पन्च ईभी निकै मजबुत देखिन्छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल अर्थात् ईएससी, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ–बिम असिस्ट जस्ता अत्याधुनिक सुरक्षा सुविधा दिइएको छ ।

समग्रमा, ठूलो ब्याट्री, नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट सुरक्षा सुविधासहित टाटा मोटर्सले नयाँ पन्च ईभीलाई अझ प्रतिस्पर्धी बनाएको देखिन्छ । कम्पनीले यो नयाँ इलेक्ट्रिक एसयूभी छिट्टै नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया