उद्योगीलाई अर्थमन्त्री वाग्लेको आग्रह : ढुक्क भएर लगानी विस्तार गर्नुहोस्

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उद्योगी–व्यवसायीलाई ढुक्क भएर लगानी बढाउन आग्रह गरेका छन् । सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

मंगलबार अर्थ मन्त्रालयले बजेट कार्यान्वयनबारे सुरु गरेको छलफल कार्यक्रममा तीन दर्जनभन्दा बढी उद्योगी–व्यवसायीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्र नै देशको आर्थिक विकासको मुख्य आधार भएको बताएका हुन् ।

उनले सरकारले लगानीका लागि आवश्यक कानुनी र नीतिगत सुधार गरिरहेको भन्दै उद्योगी–व्यवसायीलाई रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन आग्रह गरे ।

उनले भने, ‘ढुक्क भएर लगानी विस्तार गर्नुहोस्। सरकारले तपाईँहरूको लगानीको सुरक्षा गर्छ। कुनै कानुनी वा व्यवहारिक समस्या भए निर्धक्क भएर भन्नुहोस्, सरकार समाधानका लागि साथमा छ ।’

अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटले करिब ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने भएकाले निजी क्षेत्रको भूमिका धेरै महत्वपूर्ण रहेको बताए ।

बजेटमार्फत लगानीमैत्री वातावरण बनाउन सुधारका काम सुरु भइसकेको उल्लेख गर्दै उनले थप सुधार आवश्यक भए उद्योगी–व्यवसायीबाट सुझाव दिन आग्रह गरे ।

उनले अहिले पाँच वर्षे आर्थिक सुधार योजनाको पहिलो वर्ष भएकाले आगामी वर्षहरूमा अझ ठूला सुधार गरिने बताए । सरकार र निजी क्षेत्र मिलेर काम गरे मात्र अर्थतन्त्र बलियो बन्ने उनको भनाइ थियो ।

कार्यक्रममा अर्थमन्त्रीले करिब पाँच घण्टासम्म उद्योगी–व्यवसायीका समस्या र सुझाव सुनेका थिए । छलफलमा अन्तःशुल्क, भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग सम्बन्धित विषय उठेका थिए ।

यी समस्याको समाधानका लागि आवश्यक संयन्त्र बनाएर काम गरिने उनले विश्वास दिलाए । साथै, बजेटमा घोषणा गरिएका कार्यक्रम कार्यान्वयन सुरु भइसकेको पनि उनले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि, लगानीको सुरक्षा र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिएको बताउँदै उत्पादनशील अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीचको साझेदारी अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?